काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवर्द्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सिटिजन्स म्युचुअल फण्ड–२ ले सातवर्षे अवधि सफलतापूर्वक पूरा गरेको छ। २०७६ असार २२ गतेदेखि सञ्चालनमा आएको ५६ करोड रुपैयाँको उक्त योजना २०८३ असोज २१ गते परिपक्व भएको हो।
योजनाले सञ्चालन अवधिभर इकाइधनीलाई औसत वार्षिक १०.४० प्रतिशत प्रतिफल प्रदान गरेको छ। योजना खारेजी प्रक्रिया पूरा भएसँगै इकाइधनीलाई भुक्तानी गर्नुपर्ने रकम वितरणसमेत सुरु गरिएको कम्पनीले जनाएको छ।
यसअघि सिटिजन्स म्युचुअल फण्ड–१ मार्फत औसत वार्षिक १२ प्रतिशत प्रतिफल प्रदान गरेको सिटिजन्स क्यापिटलले अब नयाँ बन्दमुखी योजना ‘सिटिजन्स सुपर ५०’ सञ्चालनमा ल्याउने भएको छ।
नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त उक्त योजनाको इकाइ निष्कासन मंसिर २ गतेदेखि सुरु हुनेछ। १० वर्षे अवधिको योजनाको प्रारम्भिक आकार एक अर्ब रुपैयाँ रहेको छ भने मागअनुसार अधिकतम एक अर्ब २५ करोड रुपैयाँसम्म कायम गर्न सकिनेछ।
सिटिजन्स क्यापिटलले हाल सिटिजन्स सुपर ३० म्युचुअल फण्ड, सिटिजन्स सदाबहार योजना तथा सिटिजन्स सन्तुलित योजनासहित विभिन्न सामूहिक लगानी योजनाको व्यवस्थापन गर्दै आएको छ। कम्पनीले इक्रा नेपालबाट AMC Quality 3+ रेटिङसमेत प्राप्त गरेको छ।
कम्पनीको सञ्चालक समितिको अध्यक्षमा राजेन्द्रलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृतमा सविर बादे श्रेष्ठ रहेका छन्।




प्रतिक्रिया