काठमाडौं । मलेसियाको विद्युतीय सवारी (ईभी) बजारमा प्रोटोन ई.मास ५ अक्टोबर २०२६ मा सर्वाधिक दर्ता हुने मोडल बनेको छ। उक्त महिनामा यसका २ हजार २६२ वटा सवारी दर्ता भएका छन्, जुन मलेसियाको कुल ईभी दर्ताको ४९.३ प्रतिशत हो।
अक्टोबरमा मलेसियाभर ४ हजार ५९२ वटा विद्युतीय सवारी दर्ता भएका थिए। यो संख्या अघिल्लो महिनाको तुलनामा २३.८ प्रतिशतले कम हो। गत फेब्रुअरीयताकै यो सबैभन्दा न्यून मासिक ईभी दर्ता हो।
प्रोटोनको अर्को मोडल ई.मास ७ का ५५४ वटा सवारी दर्ता भएका छन्। ई.मास ५ र ई.मास ७ गरी यी दुई मोडलको संयुक्त दर्ता कुल ईभी दर्ताको ६१.३ प्रतिशत रहेको छ। यसैबीच, अक्टोबरमा मलेसियामा हाइब्रिड सवारीको दर्ता ५ हजार २३ पुगेको छ। यस वर्ष दोस्रो पटक हाइब्रिड सवारीको मासिक दर्ता पूर्ण विद्युतीय सवारीको भन्दा बढी भएको हो। मलेसियामा प्रोटोन ई.मास ५ को बिक्रीले अग्रता लिइरहेका बेला नेपालमा पनि यसको बिक्री हुँदै आएको छ। शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्स प्रा.लि. नेपालका लागि प्रोटोनको आधिकारिक वितरक हो।
नेपाली बजारमा ई.मास ५ र ई.मास ७
नेपालमा प्रोटोन ई.मास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ। यसमा रियर-ह्विल ड्राइभ लेआउट, ८५ किलोवाटको मोटर र ४० किलोवाट आवर क्षमताको सीएटीएल एलएफपी ब्याट्री रहेको छ। यसको टर्निङ रेडियस ४.९५ मिटर छ भने रियर मल्टिलिंक सस्पेन्सन र भेहिकल-टु-लोड (भीटूएल) सुविधा पनि उपलब्ध छ।
यसमा १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो सुविधा छन्। ७० लिटरको फ्रन्ट ट्रंक र ३७५ लिटरसम्म विस्तार गर्न सकिने पछाडिको लगेज स्पेस रहेको यस मोडलको नेपाली बजार मूल्य ३२ लाख ९९ हजार रुपैयाँबाट सुरु हुन्छ।
त्यस्तै, ई.मास ७ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ। यसमा ४१० किलोमिटरसम्मको डब्ल्यूएलटीपी रेन्ज दिने ब्याट्री, १२-इन-१ इन्टिग्रेटेड मोटर र डीसी फास्ट चार्जिङ सुविधा रहेको छ। १५.४ इन्चको २.५के टचस्क्रिन, १६ स्पिकरयुक्त साउन्ड सिस्टम, एप्पल कारप्ले, एन्ड्रोइड अटो, हेड-अप डिस्प्ले र भीटूएल सुविधा यसका प्रमुख विशेषता हुन्। नेपाली बजारमा ई.मास ७ को मूल्य ४९ लाख ९९ हजार रुपैयाँबाट सुरु हुन्छ।





प्रतिक्रिया