राहदानी ठेक्कामा करोडौँको अनियमितता आशंकामा राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा

ठेकेदार सिद्धार्थ थापासहित अन्य अधिकारीमाथि पनि अनुसन्धान


काठमाडौं । राहदानी छपाइ तथा आपूर्ति ठेक्कासँग जोडिएको करोडौँ रुपैयाँको अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

स्रोतका अनुसार अख्तियारको टोलीले मंगलबार अर्याललाई नियन्त्रणमा लिएको हो। राहदानी छपाइ तथा आपूर्ति प्रक्रियामा आर्थिक अनियमितता भएको आशंकामा उनीसँग बयान लिने काम भइरहेको बताइएको छ।

‘सोधपुछ तथा कागजात परीक्षणको काम जारी छ,’ अख्तियार निकट स्रोतले भन्यो, ‘अख्तियारको टोलीले सोमबार साँझ नै विभाग पुगेर सम्बन्धित कागजात नियन्त्रणमा लिएको थियो।’

राहदानी विभागको ठेक्का प्रक्रियामा मिलेमतो गरी करोडौँ रुपैयाँको अनियमितता गरिएको आरोपमा महानिर्देशक अर्यालसँगै ठेकेदार पक्षसमेत अनुसन्धानको घेरामा परेको स्रोतको दाबी छ।

 राहदानी छपाइसँग सम्बन्धित कम्पनी भेरिडियसका सञ्चालक सिद्धार्थ थापालाई पनि अख्तियारले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। उनी नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य सुनिल थापा का छोरा हुन्।

स्रोतका अनुसार अख्तियारले राहदानी विभागका प्रशासन तथा व्यवस्थापन शाखाका निर्देशक एवं प्रवक्ता सोमेश थापा तथा सूचना प्रविधि निर्देशक सुनिलकुमार केसीलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

उता, महानिर्देशक अर्याल भने सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेका थिए। उनी प्रधानमन्त्रीलाई भेट्न भन्दै कार्यालय पुगेको स्रोतले जनाएको छ।

अख्तियारले राहदानी खरिद, छपाइ तथा आपूर्ति प्रक्रियासम्बन्धी कागजात, निर्णय प्रक्रिया र आर्थिक कारोबारका पक्षमा केन्द्रित भएर विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।

२०८३ असार २, मंगलवार १२:३७ प्रकाशित
ट्रेन्डिङ समाचार