काठमाडौँ । अविरल वर्षा, बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न मुख्य सडक तथा राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार चन्द्रागिरि–देउराली देवीस्थानस्थित सतुङ्गल–चित्लाङ सडक र मकवानपुरको कुलेखानी–फाखेल–हुमाने–फर्पिङ सडक मर्मत कार्यका लागि एक महिनासम्म पूर्ण रूपमा बन्द गरिएको छ।
यस्तै, इलामको पुवाखोलामा बाढी आएपछि मेची कोरिडोर अवरुद्ध भएको छ भने वैकल्पिक रूपमा मेची राजमार्ग प्रयोग गर्न आग्रह गरिएको छ। सम्भावित बाढी जोखिमका कारण बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी खण्डमा सवारी सञ्चालन रोकिएको छ।
मध्य पहाडी लोकमार्गअन्तर्गत भोजपुरको बोखिम र पाँचथरको दोभान तथा पूर्व–पश्चिम लोकमार्गको महोत्तरीस्थित टुटेश्वर खण्डमा सडक एकतर्फी रूपमा सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।