काठमाडौं । चालु आर्थिक वर्ष सकिन एक महिना मात्र बाँकी रहँदा सरकारको पूँजीगत खर्च अपेक्षाअनुसार हुन सकेको छैन। सरकारले यस वर्षका लागि विनियोजन गरेको ४ खर्ब ७ अर्ब रुपैयाँमध्ये जेठ मसान्तसम्म १ खर्ब ३२ अर्ब रुपैयाँ अर्थात् करिब ३० प्रतिशत मात्रै खर्च भएको छ।
गत आर्थिक वर्षको सोही अवधिमा ३ खर्ब ५२ अर्ब रुपैयाँको पूँजीगत बजेटमध्ये १ खर्ब ४३ अर्ब रुपैयाँ खर्च भएको थियो। नयाँ सरकारले विकास निर्माणलाई प्राथमिकता दिएको दाबी गरे पनि खर्चको गति भने सुस्त देखिएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले निर्माण कार्यको अनुगमनलाई तीव्रता दिए पनि विकास आयोजनाहरूमा अपेक्षित प्रगति हुन नसकेको देखिन्छ। निर्माण व्यवसायीहरूले भने सरकारी प्रक्रियागत ढिलाइ र विभिन्न प्रशासनिक अवरोधका कारण काम प्रभावित भएको गुनासो गरेका छन्।