राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा सुमन दाहाल नियुक्त


काठमाडौं ।सरकारले राष्ट्रिय वाणिज्य बैंक को अध्यक्षमा अर्थ मन्त्रालयका वरिष्ठ सहसचिव सुमन दाहाललाई नियुक्त गरेको छ।

सरकारले अघिल्लो कार्यकालमा राजनीतिक नियुक्तिबाट आएका पदाधिकारीहरूलाई पदमुक्त गर्ने नीति अघि बढाइरहेका बेला बैंक नेतृत्वमा यो परिवर्तन गरिएको हो।

यसअघि बैंकका अध्यक्ष देवकुमार ढकालले सरकारको निर्देशनात्मक नीति तथा बदलिएको राजनीतिक परिस्थितिपछि पदबाट राजीनामा दिएका थिए। उनको राजीनामापछि रिक्त रहेको अध्यक्ष पदमा अर्थ मन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकमध्ये दाहाललाई अध्यक्षको जिम्मेवारी दिइएको हो।

दाहाल अर्थ मन्त्रालयमा लामो समयदेखि वित्तीय प्रशासन तथा सार्वजनिक संस्थान व्यवस्थापनसम्बन्धी जिम्मेवारीमा कार्यरत अनुभवी सहसचिवका रूपमा परिचित छन्। उनको नियुक्तिसँगै सरकारी स्वामित्वका बैंक तथा संस्थानहरूमा सुधार हुने अपेक्षा गरिएको छ ।

सरकारले पछिल्लो समय सार्वजनिक संस्थान तथा बोर्डहरूमा राजनीतिक नियुक्तिभन्दा प्रशासनिक दक्षता र संस्थागत स्थायित्वलाई प्राथमिकता दिने संकेत गरिरहेको छ।

२०८३ जेष्ठ २६, मंगलवार १३:४८ प्रकाशित
ट्रेन्डिङ समाचार