काठमाडौं ।नेपाल एशियन गेम्स पुरुष क्रिकेट क्वालिफायरको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो सेमिफाइनलमा ओमानलाई एकतर्फी रूपमा पराजित गर्दै नेपालले उपाधिनजिक आफ्नो स्थान सुरक्षित गरेको हो ।
ओमानले दिएको सामान्य लक्ष्य नेपालले सहज रूपमा पूरा गर्दै फाइनल यात्रा तय गरेको हो । सुरुदेखि नै बलिङ र ब्याटिङ दुवै विभागमा प्रभुत्व जमाएको नेपालले खेललाई एकपक्षीय बनाएको थियो ।
टस जितेर पहिले ब्याटिङ गरेको ओमान नेपाली बलरहरूको दबाब थेग्न नसक्दा २० ओभरमा मात्र ९४ रनमा समेटियो । ओमानको सुरुवात नै खराब रह्यो । नेपालका तीव्र गतिका बलर करण केसीले शुरुआती ओभरमै लगातार विकेट लिएपछि ओमान ३ ओभरभित्रै ९ रन जोड्दा ३ विकेट गुमाउने संकटमा पुगेको थियो ।
मध्यक्रममा सुफ्यान मेहमुदले ३८ रन बनाएर इनिङ सम्हाल्ने प्रयास गरे पनि अन्य ब्याट्सम्यानले साथ दिन सकेनन् । नेपालको कडा लाइन–लेन्थ र आक्रामक फिल्डिङका कारण ओमान ठूलो स्कोरतर्फ अघि बढ्न सकेन ।
नेपालका लागि करण केसीले ३ विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले समान २–२ विकेट हात पारे । नेपाली बलरहरूको अनुशासित प्रदर्शनले ओमानलाई पूरै दबाबमा राखेको थियो ।
९५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले आक्रामक सुरुवात गर्यो । ओपनर कुशल भुर्तेलले केवल ८ बलमा २० रन प्रहार गर्दै ओमानमाथि थप दबाब सिर्जना गरे । दुई ओपनर छिट्टै आउट भए पनि त्यसपछि लोकेश बम र कप्तान रोहित पौडेलले संयमित तथा आक्रामक ब्याटिङ गर्दै नेपाललाई सहज जित दिलाए ।
लोकेश बमले २६ बलमा ४४ रन बनाउने क्रममा ७ चौका र १ छक्का प्रहार गरे । रोहित पौडेलले पनि जिम्मेवार इनिङ खेल्दै लक्ष्य पूरा गर्ने क्रममा टोलीलाई स्थिरता दिएका थिए ।
यस जितसँगै नेपालले एशियन गेम्सको मुख्य प्रतियोगितामा आफ्नो स्थान थप मजबुत बनाएको छ । पछिल्ला खेलहरूमा नेपाली टोलीले देखाएको लय, अनुशासित बलिङ र आक्रामक ब्याटिङले उपाधि दाबेदारीलाई समेत बलियो बनाएको छ ।



