काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले २०८२ साल फागुन २१ गते सम्पन्न निर्वाचन नेपालको इतिहासमा विशेष रूपमा अंकित हुने बताउनुभएको छ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले विद्रोहपछि निर्धारित ६ महिनाभित्र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुनु ठूलो उपलब्धि भएको उल्लेख गर्नुभयो। उहाँका अनुसार नेपालको उक्त निर्वाचनलाई विश्वभरबाट सूक्ष्म रूपमा अध्ययन र विश्लेषण गरिएको छ भने विद्रोहपछिको छोटो अवधिमै निर्वाचन सम्पन्न गर्न सकिने सन्देश विश्व समुदायलाई दिएको छ।
उहाँले निर्वाचनप्रति प्रारम्भिक संशय, निषेधको राजनीति, सुरक्षा चुनौती तथा निर्वाचनको वातावरण निर्माणसँग सम्बन्धित विभिन्न जटिलताका बाबजुद आयोगले संविधान र कानूनअनुसार सबै सरोकारवालासँग समन्वय र संवाद गर्दै सफलतापूर्वक निर्वाचन सम्पन्न गरेको बताउनुभयो।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले आयोगले निर्वाचनलाई मितव्ययी र प्रभावकारी ढंगले सम्पन्न गराउन पनि सफलता हासिल गरेको दाबी गर्नुभयो।


