काठमाडौं । १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत् आयोजनाका लागि करिब १९ अर्ब रुपैयाँको वित्तीय व्यवस्थापन सम्झौता भएको छ। आयोजना प्रवर्द्धक त्रिशक्ति पावर डेभलपमेन्ट प्रालि र ग्लोबल आइएमई बैंकको नेतृत्वमा रहेको बैंकिङ कन्सोर्टियमबीच बुधबार सम्झौता सम्पन्न भएको हो।
सम्झौताअनुसार आयोजनाको कुल लागत करिब २५ अर्ब रुपैयाँमध्ये ७५ प्रतिशत रकम ऋणमार्फत र २५ प्रतिशत इक्विटीबाट जुटाइनेछ। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित तमोर नदीमा निर्माण हुने यो आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजना सम्पन्न भएपछि देशको ऊर्जा उत्पादन वृद्धि तथा विद्युत् निर्यात प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।