काठमाडौं ।अध्ययन, असाधारण र बेतलबी विदामा बसेका हजारौं निजामती कर्मचारी सरकारकै सम्पर्कबाहिर रहेको तथ्य खुलेपछि सरकारले उनीहरूमाथि कडा निगरानी र खोजतलास अभियान सुरु गरेको छ । लामो समयदेखि विदामा बसेर कार्यालयमा हाजिर नभएका, विदेश गएर सम्पर्कविहीन बनेका तथा अभिलेखमा समेत स्पष्ट अवस्था नदेखिएका कर्मचारीमाथि अब विभागीय कारबाही हुँदै बर्खास्तसम्मको प्रक्रिया अघि बढाइने भएको छ ।
राष्ट्रिय किताबखाना (निजामती) को अभिलेखअनुसार विभिन्न प्रकारका विदामा रहेका ७ हजार ५१ कर्मचारीमध्ये ९९३ जनाको मात्रै कानुनी र स्पष्ट अभिलेख भेटिएको छ । बाँकी ६ हजार ५८ कर्मचारीको वास्तविक अवस्था राज्य संयन्त्रलाई नै थाहा छैन ।
भूमि व्यवस्था, सहकारी ,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल ले बिहीबार मन्त्रालयमा आयोजित छलफलमा कडा चेतावनी दिँदै विदामा बसेर सम्पर्कविहीन भएका कर्मचारीको अभिलेख तत्काल शुद्धीकरण गर्न र कैफियत देखिए बर्खास्त गर्न निर्देशन दिएकी हुन् ।
सामान्य प्रशासन मन्त्रालयमा आयोजित छलफलमा १७ वटै मन्त्रालयका प्रशासन महाशाखा प्रमुख सहसचिवहरू सहभागी थिए । छलफलमा मन्त्री रावलले अध्ययन, बेतलबी तथा असाधारण विदामा रहेका कर्मचारीको वास्तविक अवस्था यथाशीघ्र अद्यावधिक गर्न, कानुनविपरीत विदामा बसेका वा लामो समय सम्पर्कमा नआएका कर्मचारीमाथि आवश्यक कारबाही अघि बढाउन निर्देशन दिएकी थिइन् ।
राष्ट्रिय किताबखाना (निजामती) का महानिर्देशक श्रवण कुमार पोखरेल ले प्रशासनपोस्टसँग कुरा गर्दै विगतदेखि नै सम्पर्कविहीन कर्मचारीको अभिलेख शुद्धीकरण अभियान चलिरहेको र अब यसलाई थप आक्रामक बनाइने बताए ।
उनका अनुसार तलबी अध्ययन विदामा रहेका ४ हजार १ सय ३२ कर्मचारीमध्ये ७३१ जनाको मात्रै वैधानिक अवस्था पुष्टि भएको छ भने बाँकी ३ हजार ४ सय १ जनाको अवस्था अज्ञात छ ।
त्यस्तै, बेतलबी अध्ययन विदामा रहेका १ हजार ४ सय ४५ जनामध्ये १६७ जना मात्रै सम्पर्कमा छन् भने १ हजार २ सय ७८ जनाको अवस्थाबारे कुनै स्पष्ट विवरण छैन ।
असाधारण विदामा रहेका १ हजार ४ सय ४९ कर्मचारीमध्ये ९५ जना मात्रै सम्पर्कमा रहेको अभिलेख छ भने बाँकी १ हजार ३ सय ५४ जना सम्पर्कबाहिर छन् ।
“धेरै कर्मचारी अध्ययन विदामामा रहेको भनिएपनि राज्यको सम्पर्कमा छैनन् । अब खोजतलासका क्रममा कुनै कैफियत भेटिए विभागीय कारबाही हुँदै बर्खास्तसम्मको प्रक्रिया अघि बढ्छ,” महानिर्देशक पोखरेलले भने ।
यसैबीच राष्ट्रिय किताबखाना (निजामती) ले बिहीबार नै १७ वटै मन्त्रालयलाई पत्राचार गर्दै आफ्नो मातहतमा विदामा रहेका कर्मचारीहरूको वास्तविक अवस्था, कार्यस्थिति र सम्पर्क विवरण तत्काल पठाउन भनेको छ ।
किताबखानाले सम्पर्कविहीन रहेका ६ हजार ५८ कर्मचारीको नामावलीसहित सम्बन्धित मन्त्रालयमा विवरण पठाइसकेको जनाएको छ । अब मन्त्रालयहरूले ती कर्मचारीको वास्तविक अवस्था पुष्टि गर्नुपर्नेछ । कानुनअनुसार विदामा नरहेको, लामो समयसम्म सम्पर्कमा नआएको वा सरकारी दायित्वबाट पूर्णतः अलग भएको पाइएमा त्यस्ता कर्मचारीमाथि विभागीय कारबाहीसहित बर्खास्ती प्रक्रिया अघि बढाइने तयारी सरकारले गरेको छ ।


