काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसलाई समानता र सामाजिक न्यायप्रतिको सामूहिक प्रतिबद्धताको दिनका रूपमा मनाउनुपर्ने बताएका छन्।
शुभकामना सन्देश जारी गर्दै उनले संविधान र कानुनले समान अधिकारको व्यवस्था गरे पनि समाजमा अझै जातीय विभेदका घटना देखिनु चिन्ताको विषय भएको बताए। उनले विभेदरहित, समावेशी र समतामूलक समाज निर्माणका लागि सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरे।
आङ्देम्बेले जातीय भेदभावविरुद्ध दृढतापूर्वक उभिँदै सामाजिक सद्भाव र मानव मर्यादाको संरक्षणमा लाग्न सबैलाई आह्वान गरेका छन्।
२०८३ जेष्ठ २१, बिहीबार १२:१० प्रकाशित




