अमेरिकी उपविदेशमन्त्री सारा बी. रोजर्स काठमाडौं आइपुगिन्, उच्चस्तरीय भेटवार्ताको तयारी


काठमाडौं ।अमेरिकी उपविदेशमन्त्री तथा सार्वजनिक कूटनीति उपमन्त्री  सारा बी. रोजर्स काठमाडौं आइपुगेकी छन्।

नयाँ दिल्लीबाट शनिबार राति काठमाडौं अवतरण गरेकी रोजर्स हालैको उच्चस्तरीय कूटनीतिक भ्रमण शृंखलाकै निरन्तरता स्वरूप नेपाल आएको मानिएको छ।

रोजर्स, हालै गठन भएको सरकारपछि नेपाल आउने अहिलेसम्मकै उ च्च पदस्थ अमेरिकी अधिकारीमध्ये एक मानिन्छिन्। स्रोतका अनुसार, मार्च २७ मा नयाँ सरकार गठन भएयता नेपाल भ्रमण गर्ने उनी तेस्रो वरिष्ठ अमेरिकी अधिकारी हुन्।

यसअघि दक्षिण तथा मध्यएसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री  समीर पल कपुर र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका दक्षिण तथा मध्यएसिया विशेषदूत सर्जियो गोर नेपाल भ्रमणमा आएका थिए।

हालको सरकार गठनपछि नेपाल–अमेरिका उच्चस्तरीय कूटनीतिक सम्पर्क र भेटघाटको क्रम बढ्दै गएको देखिएको छ।उपविदेशमन्त्री रोजर्सले हालै पदभार ग्रहण गरेपछि यो उनको मध्य–एसिया क्षेत्रको पहिलो औपचारिक भ्रमण हो।

काठमाडौं बसाइँका क्रममा उनी अमेरिकी दूतावासका जनसम्पर्क प्रमुख माइक हार्करसँग सम्बन्धित सगरमाथा आरोहणसम्बन्धी कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ। हार्करले जेठ ६ गते सगरमाथा आरोहण गरेका थिए।

त्यसै अवसरमा आइतबार अमेरिकी दूतावासले “द एसेन्ट समिट” नामक विशेष कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ, जहाँ रोजर्स प्रमुख अतिथिका रूपमा सहभागी हुने जनाइएको छ।

भ्रमणका क्रममा उनले नेपालका राजनीतिक दलका नेता, मन्त्री तथा कूटनीतिज्ञसँग भेटवार्ता गर्ने सम्भावना रहेको छ।

तर प्रधानमन्त्री बालेन्द्र शाहसँग   औपचारिक भेटवार्ता हुने वा नहुनेबारे भने दूतावास वा सरकारी स्रोतले हालसम्म स्पष्ट जानकारी दिएको छैन।

२०८३ जेष्ठ १७, आईतवार ११:१८ प्रकाशित
ट्रेन्डिङ समाचार