काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले आधुनिक प्रविधिको विकाससँगै पनि सामुदायिक रेडियोको प्रभाव र आवश्यकता कम नभएको बताएका छन्। रेडियो सगरमाथाको ३०औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले सामुदायिक रेडियोलाई प्रविधिमैत्री, उत्तरदायी र जनअपेक्षाअनुसार सञ्चालन गर्नुपर्नेमा जोड दिए।
मन्त्री तिमल्सिनाले निष्पक्ष र नैतिक पत्रकारिता आजको आवश्यकता भएको उल्लेख गर्दै रेडियो सगरमाथाले तीन दशकदेखि निष्पक्ष सञ्चारको उदाहरण प्रस्तुत गरेको बताए। उनले सञ्चारमाध्यमको दिगोपनाका लागि सरकार सकारात्मक हस्तक्षेप गर्न तयार रहेको पनि बताए।
कार्यक्रममा युनेस्कोका प्रतिनिधि याको दु तेइले सामुदायिक रेडियोले नागरिकको आवाजलाई सशक्त बनाएको धारणा राखे भने रेडियो सगरमाथाका अध्यक्ष डा. घमराज लुइँटेलले स्वतन्त्र सञ्चारमाध्यमलाई राज्यले सहयोग गर्नुपर्ने बताए।
दक्षिण एसियाको पहिलो स्वतन्त्र सामुदायिक रेडियोका रूपमा रेडियो सगरमाथा वि.सं. २०५४ जेठ ९ गते स्थापना भएको हो।


