भारतमा फेरि पेट्रोल–डिजेल महँगियो, नेपालमा पनि असर पर्ने संकेत
काठमाडौं । छिमेकी भारतमा पेट्रोलियम पदार्थको मूल्य पुनः बढाइएको छ। सरकारी स्वामित्वका इन्धन खुद्रा विक्रेताहरूले पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेपछि उपभोक्तामाथि महँगीको थप भार परेको हो। नयाँ मूल्यअनुसार नयाँ दिल्लीमा पेट्रोल प्रतिलिटर ८७ पैसा बढेर ९९.५१ भारतीय रुपैयाँ पुगेको छ भने डिजेलको मूल्य ९१ पैसा वृद्धि भई ९२.४९ भारतीय रुपैयाँ कायम भएको छ।
पछिल्लो ९ दिनमा यो तेस्रो पटक इन्धनको मूल्य बढाइएको हो। यसअघि मे १९ मा प्रतिलिटर ९० पैसा र मे १५ मा ३ भारतीय रुपैयाँसम्म मूल्य वृद्धि गरिएको थियो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उतारचढाव तथा तेल कम्पनीहरूको घाटा न्यूनीकरण गर्न मूल्य समायोजन गरिएको जनाइएको छ।
लगातारको मूल्यवृद्धिले नेपालमा समेत असर पर्ने अनुमान गरिएको छ, किनकि नेपालले अधिकांश पेट्रोलियम पदार्थ भारतबाट आयात गर्दै आएको छ।