‘नेपाल हुलाक फेरि नागरिकको मुटु बन्न सक्छ’


नेपालको हुलाक सेवा अहिले परम्परागत चिठीपत्र बोक्ने संरचनाबाट प्रविधिमैत्री, विश्वसनीय र जनमुखी सेवातर्फ रूपान्तरणको चरणमा छ। हुलाक सेवा विभागकी महानिर्देशक  मनमाया भट्टराई पंगेनी ले हुलाकलाई पुनः नागरिकको भरोसायोग्य सेवाका रूपमा स्थापित गर्ने अभियान अघि बढाइरहेको बताउनुहुन्छ।निजामती प्रशासनमा इमान्दार, निष्ठावान् र परिणाममुखी प्रशासकका रूपमा परिचित पंगेनीले हुलाक सेवालाई आधुनिक, प्रतिस्पर्धी र व्यावसायिक बनाउने लक्ष्यसहित संरचनागत तथा प्रविधिगत सुधारलाई तीव्रता दिइरहेको बताउनुभयो।परम्परागत हुलाकप्रतिको घट्दो आकर्षणलाई पुनर्जीवित गर्दै सेवा विस्तार, डिजिटल प्रणाली, दुर्गम क्षेत्रमा सेवा पहुँच, अन्तर्राष्ट्रिय हुलाक सञ्जाल, कर्मचारीतन्त्रमा व्यावसायिक संस्कार र जनविश्वास निर्माणका विषयमा केन्द्रित रहेर प्रशासनपोष्ट डटकमले उहाँसँग गरेको कुराकानीको सम्पादित अंश :

नेपालको हुलाक सेवा परम्परागत संरचनाबाट आधुनिक र व्यावसायिक प्रणालीतर्फ रूपान्तरण हुने चरणमा छ। महानिर्देशकको रूपमा हुलाक सेवाको वर्तमान अवस्था र भविष्यलाई यहाँले कसरी मूल्यांकन गर्नुभएको छ ?

नेपाल हुलाक अहिले परम्परागत संरचनाबाट आधुनिक प्रणालीतर्फ रूपान्तरणको महत्वपूर्ण चरणमा छ। विश्व हुलाक संघबाट प्राप्त प्रणालीमार्फत हुलाक वस्तु दर्तादेखि वितरणसम्मका गतिविधिलाई ‘पोस्टल इन्टरनल ट्र्याकिङ सिस्टम (PITS)’ मार्फत ट्र्याक गर्न सकिने व्यवस्था गरिएको छ।

यसका साथै ‘सीडीएस पोस्ट’, ‘आईपीएस पोस्ट’, ‘आई केयर’, ‘जीसीएसएस’, ‘आरएआईएस’ र ‘क्यूसिएस’ जस्ता आधुनिक प्रणाली तथा सफ्टवेयर प्रयोगमा ल्याइएको छ। कर्मचारीहरूको क्षमता विकास गर्दै प्रविधिमैत्री सेवा प्रवाहमा जोड दिएका छौं।यद्यपि, आन्तरिक हुलाक प्रणालीलाई अन्य सरकारी निकायका प्रणालीसँग अन्तरआवद्ध गर्न अझै स्तरोन्नति आवश्यक छ।

नेपाल हुलाकको गौरवशाली इतिहास छ। देशको सुगमदेखि अति दुर्गम क्षेत्रसम्म यसको सञ्जाल फैलिएको छ। यदि राज्यले यसलाई स्रोत–साधन सम्पन्न बनायो भने नेपाल हुलाकलाई पुनः ‘रि–ब्रान्ड’ गर्दै राज्य र नागरिकबीचको महत्वपूर्ण सेतुका रूपमा स्थापित गर्न सकिन्छ भन्ने मेरो विश्वास छ। भविष्यमा हुलाक फेरि नागरिकको मुटु बन्न सक्छ।

हुलाक सेवा विभागले ‘स्वायत्त, प्रतिस्पर्धी र व्यावसायिक हुलाक सेवा’ भन्ने दीर्घकालीन सोच अघि सारेको छ। यो लक्ष्य हासिल गर्न विभागले कस्ता सुधार अघि बढाएको छ ?

नेपाल विश्व हुलाक संघको सदस्य राष्ट्र भएकाले हुलाक सेवा ‘युनिभर्सल सर्भिस अब्लिगेसन’ अन्तर्गत अत्यावश्यक सेवाका रूपमा रहेको छ। यो नाफामुखीभन्दा सेवामुखी सरकारी संयन्त्र हो। तथापि, यसले गैरकर राजस्वमा पनि योगदान पुर्‍याइरहेको छ।नेपाल हुलाकले विश्वका अन्य देशको हुलाक सेवा पनि सञ्चालन गर्छ भने अन्य देशका हुलाकले नेपालको सेवा पनि गर्छन्। ‘टर्मिनल ड्यू’ प्रणालीमार्फत अन्तर्राष्ट्रिय स्तरमै सेवा मूल्यांकन हुने भएकाले यसको महत्व अझ बढेको छ।

हामीले हुलाक पुनःसंरचना गर्दै सातै प्रदेश, सबै जिल्ला र ७५३ वटै स्थानीय तहसम्म संरचना विस्तार गरेका छौं।विगतको ५ अंकको डिजिटल पोस्टल कोडलाई स्तरोन्नति गर्दै ७ डिजिट पोस्टल कोड प्रणाली लागू गरिएको छ। यसले वडास्तरसम्मको ठेगाना व्यवस्थापनलाई व्यवस्थित बनाउनेछ।सेवाको लागत र समय घटाउन डाँक रेखाको पुनरावलोकन गरिएको छ भने सेवाको विविधीकरण र ‘स्मार्ट हुलाक’ अवधारणालाई पनि अघि बढाइएको छ।

हाइलाइट्स
“नेपाल हुलाक राज्य र नागरिकलाई जोड्ने महत्वपूर्ण सेतु बन्न सक्छ”
“दुर्गम क्षेत्रमा सेवा नजिकबाट पुर्‍याउने प्रभावकारी निकाय हुलाक नै हो”
“ईएमएस सेवा ३९ देशमा र पार्सल सेवा ७५ देशका ९२ गन्तव्यसम्म”
“५ अंकको पोस्टल कोडलाई ७ डिजिट प्रणालीमा स्तरोन्नति गरिएको छ”
“मनमा स्वार्थ नराखी काम गर्ने हो भने कार्यालय पनि मन्दिरजस्तै पवित्र हुन्छ”
“दबाब र लोभलालचबाट मुक्त भएर प्रोफेसनल रूपमा काम गर्नुपर्छ”

 

डिजिटल प्रविधिको तीव्र विकाससँगै परम्परागत हुलाक सेवामाथि चुनौती थपिएको छ। यस्तो अवस्थामा नागरिकको विश्वास जित्न विभागले के–कस्ता योजना अघि बढाएको छ ?

विश्वव्यापी रूपमा डिजिटल प्रविधिको विकासले परम्परागत हुलाक सेवामा प्रभाव पारेको छ। तर हुलाक सेवा अन्य धेरै सेवासँग अन्तरसम्बन्धित भएकाले वायुसेवा र स्थल यातायातको सहयोग पनि उत्तिकै महत्वपूर्ण हुन्छ।नागरिकको विश्वास जित्न हामीले ट्र्याकिङ प्रणाली लागू गरेका छौं, जसबाट नागरिकले आफ्नो हुलाक वस्तु कहाँ पुग्यो भन्ने जानकारी सहजै पाउन सक्छन्।चिठीपत्र र कागजातका अतिरिक्त सम्बन्धित निकायसँग सहकार्य गरी लालपूर्जा, राष्ट्रिय परिचयपत्र, बैंकका एटिएम कार्ड, पासपोर्ट, ड्राइभिङ लाइसेन्स, ल्याब सामग्रीलगायतका वस्तु वितरण गरिरहेका छौं।सरकारको शासकीय सुधार कार्ययोजनाअनुसार पासपोर्ट र लाइसेन्स कार्ड घरदैलोमै पुर्‍याउने काम सुरु भइसकेको छ। आगामी दिनमा विद्यार्थीका प्रमाणपत्र लगायत अन्य महत्वपूर्ण कागजात पनि घरमै पुर्‍याउने योजना छ।

दुर्गम क्षेत्रसम्म राज्यको सेवा पहुँच पुर्‍याउने माध्यमका रूपमा हुलाक सेवाको विशेष महत्व छ। समान र समतामूलक सेवा विस्तारका लागि के गरिरहनुभएको छ ?

दुर्गम क्षेत्रमा राज्यको सेवा नजिकबाट पुर्‍याउने एकमात्र प्रभावकारी निकाय हुलाक नै हो।मनाङ, उपल्लो मुस्ताङ, हुम्ला, मुगु, कालिकोट, डोल्पा, ताप्लेजुङलगायत देशका दुर्गम क्षेत्रसम्म हाम्रो सञ्जाल पुगेको छ।हामीले संरचना र जनशक्ति परिचालन गरेर सेवा विस्तार गरिरहेका छौं। अहिले कालिकोटजस्तो दुर्गम जिल्लामा समेत पासपोर्ट घरमै पुग्न थालेको छ। सुगम र दुर्गम दुवै क्षेत्रमा घरदैलोमै सेवा वितरण भइरहेको छ।

अन्तर्राष्ट्रिय हुलाक सेवामा नेपाललाई अझ प्रभावकारी र विश्वसनीय बनाउन विभागको रणनीति के छ ?

नेपाल हुलाकले देशभित्र तथा बाहिर लेटर, पार्सल र द्रुत डाँक सेवा (ईएमएस) सञ्चालन गरिरहेको छ।हाल नेपाल हुलाकले ईएमएस सेवा ३९ देशमा तथा पार्सल सेवा ७५ देशका ९२ गन्तव्यसम्म विस्तार गरेको छ।यद्यपि सीमित वायुसेवा पहुँचका कारण अझै सबै क्षेत्रमा प्रभावकारी सेवा विस्तार गर्न चुनौती छ। त्यसैले बहुवायुसेवासँग पहुँच विस्तार गर्न सहजीकरण भइरहेको छ।अन्तर्राष्ट्रिय हुलाक प्रणालीमा अन्य देशका सेवाको प्रभावकारिताबाट पनि मूल्यांकन हुने भएकाले नेपालको सन्दर्भमा वायुसेवा नै प्रमुख चुनौती बनेको छ।तर विश्व हुलाक संघ (UPU) को पछिल्लो प्रतिवेदनले नेपाल हुलाकको ईएमएस सेवाको गुणस्तरमा सुधार भएको देखाएको छ, जसले हामीलाई थप आशावादी बनाएको छ।

सरकारी निकायप्रतिको जनविश्वास मजबुत बनाउन सेवामैत्री प्रशासन आवश्यक मानिन्छ। यहाँको नेतृत्वमा विभागलाई पारदर्शी र जनमुखी बनाउन के गर्नुभएको छ ?

सरकारी निकायले आफूले गरेको काम इमान्दार रूपमा नागरिकलाई भन्न सक्नुपर्छ। गर्न नसकिने कामको कारण पनि स्पष्ट रूपमा राख्न सकियो भने नागरिक सरकारप्रति नकारात्मक हुँदैनन्।हामीले ‘जे हो त्यही भन्ने’ संस्कार विकास गरेका छौं। काम गर्ने कर्मचारीलाई सम्मान गर्ने र हुलाकमा काम गर्नु गौरव हो भन्ने भावना विकास गर्न प्रयासरत छौं।हुलाकका कर्मचारीलाई परिवारका सदस्यजस्तै व्यवहार गर्दै आत्मीयता र सहकार्यको वातावरण बनाएका छौं।

 

सार्वजनिक सेवामा प्रवेश गर्न चाहने नयाँ पुस्ता र वर्तमान कर्मचारीतन्त्रलाई यहाँको सन्देश के छ ?

हामी पहिले नागरिक हौं, त्यसपछि मात्र कर्मचारी। त्यसैले सेवा दिँदा नागरिकको मनबाट सोच्न सक्नुपर्छ।जहाँ काम गरे पनि सुधारको सुरुवात सानो प्रयासबाट गर्न सकिन्छ। थोपा–थोपा पानीले समुद्र बनेझैँ निरन्तर सुधारले परिणाम दिन्छ।नयाँ पुस्तालाई म भन्न चाहन्छु— सार्वजनिक सेवा परिवर्तन लेख्ने सबैभन्दा शक्तिशाली माध्यम हो। तपाईंहरूको क्षमता राष्ट्रका लागि ठूलो ‘माइलस्टोन’ बन्न सक्छ।कलमले परिवर्तन गर्न सकिने सबैभन्दा महत्वपूर्ण क्षेत्र सार्वजनिक सेवा नै हो।

तपाईंको योगदानले मुलुक समृद्ध भयो भने इतिहासले तपाईंलाई सम्झिनेछ।हाल कार्यरत कर्मचारी साथीहरूलाई पनि मेरो आग्रह छ— सबै मिलेर देश र जनतालाई उज्यालो नतिजा दिने प्रतिबद्धताका साथ काम गरौं।हामी प्रोफेसनल बनौं, दबाब, प्रभाव र लोभलालचबाट मुक्त भएर इमान्दारीपूर्वक काम गरौं। कर्मचारीतन्त्र बलियो हुन आत्मीयता, समन्वय र सम्मानको संस्कृति आवश्यक छ।

अन्त्यमा, केही विशेष भन्न चाहनुहुन्छ ?

‘सकिँदैन’ भन्ने सोच हटाएर ‘सकिन्छ’ भन्ने विश्वासका साथ अघि बढ्दा हरेक काम सम्भव हुँदोरहेछ।मनमा स्वार्थ नराखी काम गर्ने हो भने हरेक कार्यालय मन्दिरजस्तै पवित्र बन्न सक्छ। त्यसका लागि सहकार्य, आत्मीयता र समन्वय अत्यन्त आवश्यक हुन्छ।

 

२०८३ जेष्ठ ८, शुक्रबार १८:१६ प्रकाशित
ट्रेन्डिङ समाचार