नयाँ प्रधानन्यायाधीशको नियुक्ति र शपथ आजै, साँझ ६ः१० बजे शपथ हुने


काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको नियुक्ति र पद तथा गोपनीयताको शपथ आजै मंगलबार हुने भएको छ। शपथ कार्यक्रम साँझ ६ बजेर १० मिनेटका लागि तय गरिएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।

शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा शपथ समारोहको तयारी अन्तिम चरणमा पुगेको छ। त्यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई नेपालको प्रधानन्यायाधीश पदमा नियुक्त गर्नेछन्।

यसअघि मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन गर्ने निर्णय गरेको थियो। सोही दिन समितिले प्रस्तावित प्रधानन्यायाधीश शर्मासँग सुनुवाइ गर्दै उनको कार्ययोजनाबारे छलफल गरेको थियो।

समितिले शर्माविरुद्ध परेका उजुरीका सम्बन्धमा उजुरीकर्तासँग समेत छलफल गरेको जनाएको छ।

संसदीय सुनुवाइ समितिले अनुमोदनसम्बन्धी निर्णयको जानकारी राष्ट्रपतिलाई लिखित रूपमा पठाइसकेको छ। समितिको सिफारिसका आधारमा राष्ट्रपतिबाट नियुक्ति प्रक्रिया पूरा गरी आजै शपथ गराइने कार्यक्रम रहेको छ।

२०८३ जेष्ठ ५, मंगलवार १७:१३ प्रकाशित
ट्रेन्डिङ समाचार