काठमाडौ । आज शारदीय नवरात्रको नवौँ दिन नवदुर्गामध्येकी अन्तिम स्वरूप देवी सिद्धिदात्रीको पूजा–आराधना गरी मनाइँदैछ। धार्मिक मान्यताअनुसार यस दिन विधिपूर्वक देवीको पूजा, ध्यान र स्तोत्र पाठ गर्नाले सुख, शान्ति, समृद्धि तथा सिद्धि प्राप्त हुने विश्वास छ।
देवी सिद्धिदात्रीलाई भक्तजनका मनोकामना पूरा गर्ने र आध्यात्मिक शक्ति प्रदान गर्ने देवीका रूपमा पूजा गरिन्छ। पौराणिक मान्यताअनुसार उहाँकै कृपाले भगवान् शिवले विभिन्न सिद्धि प्राप्त गर्नुभएको थियो र उहाँको आधा शरीर देवीको स्वरूपमा परिणत भएपछि अर्धनारीश्वर नामले प्रसिद्ध हुनुभएको थियो।
यस दिन बिहान स्नान गरी दियो, कलश र गणेशको पूजा गरेपछि देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा गर्ने परम्परा छ। देवीलाई रातो फूल, सुगन्धित पुष्प, नरिवल तथा गुलिया परिकार चढाउने गरिन्छ। पूजाका क्रममा मन्त्रजप, ध्यान र आरती गरी प्रसाद वितरण गर्ने चलन छ।
धार्मिक विश्वासअनुसार देवी सिद्धिदात्रीको श्रद्धापूर्वक आराधना गर्नाले दुःख–कष्ट हट्ने, परिवारमा सुख–शान्ति कायम हुने तथा मोक्ष प्राप्तिको मार्ग प्रशस्त हुने मान्यता रहेको छ।




प्रतिक्रिया