आव २०८३/८४ को नयाँ बजेटको सिलिङ १८ खर्ब ९० अर्ब सम्म


काठमाडौ
आगामी आर्थिक वर्ष २०८३ /८४ का लागि १८ खर्ब ९० अर्ब रूपैयाँ सम्मको बजेट सिलिङ तोकिएको जनाइएको छ ।
मंगलबार आयोजित अर्थ समितिको बैठकमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले आगामी आवको बजेटको सीमाबारे जानकारी दिएका हुन् ।
उनका अनुसार राष्ट्रिय स्रोत अनुमान समितिले आगामी वर्षको स्रोत र खर्चको आवश्यकतालाई ध्यानमा राखेर यो सिलिङ तय गरेको हो । यसै सिलिङमा रहेर बजेट निर्माण गर्न विभिन्न मन्त्रालय र निकायहरूलाई सीमा पठाइसकिएको सचिव उपाध्यायाले जानकारी दिए ।
सचिव उपाध्यायले भने, ‘मन्त्रालयगत बजेट सूचना प्रणालीमा सबै मन्त्रालयले आफ्नो योजना र विवरण प्रविष्ट गरिसकेका छन् । अहिले अर्थ मन्त्रालयले प्रत्येक मन्त्रालयसँग बजेटका प्राथमिकता, अनावश्यक खर्च कटौती र अधुरा आयोजनाका बारेमा छुट्टाछुट्टै छलफल गरिरहेको छ ।’
त्यस्तै, उनले चालू आर्थिक वर्षको पुँजीगत खर्च हालसम्म २६ प्रतिशत मात्रै भएको जानकारी दिए । जुन नीकै नै न्यून हो ।

 

२०८३ बैशाख २९, मंगलवार १३:२० प्रकाशित
ट्रेन्डिङ समाचार