कारागार जीवन बिताइरहेका विकलविरुद्ध अर्को मुद्दा दायर


 

काठमाडौं । भ्रष्टाचार मुद्दामा सजाय पाएर कारागार जीवन बिताइरहेका राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेलविरुद्ध थप अर्को मुद्दा दायर भएको छ ।

उनले हुन्डीमार्फत् करोडौं रुपियाँ अमेरिका पुर्‍याएको पाइएपछि उनीविरुद्ध थप अर्को मुद्दा दायर भएको हो।

यस्तै, विकलमाथि ठूलो परिमाणमा विदेशी मुद्रा गैरकानुनी रूपमा विदेश पठाई विदेशी विनिमय अपचलन गरेको आरोपमा अर्को मुद्दा पनि लाग्ने भएको छ।

यस प्रकरणमा राजस्व अनुसन्धान विभागले विकल र अमेरिकामा रहेकी उहाँकी श्रीमती एलिना बस्नेतमाथिको छानबिलाई तीव्रता दिएको छ। विभागले छानबिनलाई अन्तिम चरणमा पुर्‍याएकाले विकलविरुद्ध छिट्टै विदेशी विनिमय अपलचनमा पनि मुद्दा दायर हुने भएको छ ।

अख्तियारले दायर गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहरिएर कारागार चलान भएका विकलमाथि भ्रष्टाचारको करोडौं रकम हुन्डी गरी विदेश पठाएको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मुद्दा दायर गरेको छ। सीआईबी ले १ करोड ४६ लाख ६६ हजार बिगो कायम गरी मुद्दा दायर गरेको हो । विकलले भ्रष्टाचार गरेको पैसा हुन्डीमार्फत् अमेरिका पठाएको पुष्टि भएपछि मुद्दा दायर गरिएको सीआईबीले जनाएको छ।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकलमाथि भ्रष्टाचारमा छानबिन गर्दा उनले भ्रष्टाचार गरेर आर्जन गरेको अकुत सम्पति हुन्डीमार्फत् अमेरिका लैजाने गरेको फेला पारेको थियो। त्यसपछि अख्तियारले विकलमाथि हुन्डी कारोबारमा छानबिन गर्न सीआईबीलाई पत्राचार गरेको थियो । अख्तियारको पत्रका आधारमा सीआईबीले उनीमाथि छानबिन गरी मुद्दा दायर गरेको हो।

विकलले भ्रष्टाचार गरी आर्जन गरेको करोडौं रुपियाँ उनले अमेरिकामा रहेकी श्रीमती एलिना बस्नेतमार्फत् कारोबार गरेका थिए। सीआईबीले बिगोको तीन गुणा जरिवाना र सात वर्षसम्म कैद सजाय माग गरी मुद्दा दायर गरेको हो।

विकलमाथि करिब १० करोडको विदेशी विनिमय अपचलन मुद्दामा राजस्व अनुसन्धान विभागले अनुसन्धान जारी राखेको छ। विभाग स्रोतका अनुसार यस प्रकरणमा विकल र उनकी श्रीमती बस्नेतमाथिको छानबिन प्रक्रिया अन्तिम चरणमा पुर्‍याइएको छ। दुवैजनामाथि झण्डै १० करोडको विदेशी विनिमय अपचलन सम्बन्धी मुद्दा दायर हुने भएको छ।

२०८१ आश्विन ९, बुधबार १०:२५ प्रकाशित
ट्रेन्डिङ समाचार