१८ देशका लागि सिफारिस राजदूतविरुद्ध उजुरी दिन समितिको आह्वान


काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिले १८ देशका लागि सिफारिस भएका राजदूतहरूको बारेमा सार्वजनिक उजुरी आह्वान गरेको छ।  आज बसेको समितिको बैठकले उनीहरू विरुद्ध उजुरी दिन सार्वजनिक आह्वान गरेको हो । समितिले १० दिनको समय राखेर उजुरी आह्वान गरेको समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले बताए ।

उनले भोलिको पत्रिकामा सूचना आउने र संसद् सचिवालयले पनि सूचना राख्ने तथा त्यसैको आधारमा उजुरी दिन सकिने उनले बताए । परराष्ट्र मन्त्रालयले आइतबार प्रस्तावित राजदूतहरूको नाम सुनुवाइका लागि संसद् सचिवालयमा पठाएको थियो । सरकारले यही साउन १४ गते १८ देशमा राजदूत सिफारिस गरेको थियो ।

सरकारले साउन १५ गते १८ देशका लागि राजदूत सिफारिस गरेको थियो। नेकपा एमालेकी स्थायी समिति सदस्य एवं पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फे , पूर्वमुख्यसचिव लोकर्दशन रेग्मीसहित सिफारिस भएका थिए । पूर्व उप सभामुख तुम्बाहाङ्फे दक्षिण कोरियाका लागि राजदूत सिफारिस भएकी थिइन्।

त्यस्तै भारतका लागि राजदूत सिफारिस भएका शंकर शर्माको पनि पुनः  सिफारिस भएकाले सुनुवाइ हुने भएको थियो । प्रस्तावित १८ राजदूतको सूची आइतबार समितिमा सुनुवाइका लागि पुगेको थियो । उनीहरूमाथि उजुरी मागेपछि समितिमा उजुरी दर्ता हुने छ। उक्त उजुरीको आधारमा समितिले सुनुवाइ गर्ने छ। गम्भीर उजुरी परेमा उनीहरूलाई अस्वीकार पनि गर्न सक्छ । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएसँगै उनीहरू नियुक्ति हुने छ ।

२०८१ श्रावण २९, मंगलवार १३:४८ प्रकाशित
ट्रेन्डिङ समाचार