काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बीच शक्ति संघर्ष चलिरहेको दाबी गरेका छन्।
दैलेखमा आयोजित पार्टीको राष्ट्रिय जागरण तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले रास्वपाभित्रको आन्तरिक विवादका कारण राज्यका निकायसमेत प्रभावित भएको आरोप लगाए।
उनका अनुसार पार्टीभित्रको संघर्ष अदालत, प्रहरी प्रशासन र सञ्चारमाध्यमसम्म देखिन थालेको छ। उनले प्रहरी महानिरीक्षक परिवर्तन, न्यायाधीश नियुक्ति तथा विभिन्न व्यक्तिको पक्राउलाई समेत यही शक्ति संघर्षसँग जोडेर व्याख्या गरे।
पुनले सरकारले कानुन, विधि र प्रमाणका आधारमा भन्दा पनि राजनीतिक निकटताका आधारमा व्यवहार गरिरहेको आरोप लगाए। पूर्वप्रधानन्यायाधीश, सचिव तथा उद्योगी–व्यवसायीलाई पक्राउ गर्ने र पछि बिना निष्कर्ष छाड्ने प्रवृत्तिले राज्य सञ्चालनमा स्वेच्छाचारिता बढेको उनको भनाइ छ।
रास्वपाभित्र सभापति लामिछाने र प्रधानमन्त्री बालेन निकट समूहबीचको विवादका कारण फरक पक्षका व्यक्तिमाथि फरक व्यवहार भइरहेको दाबी गर्दै पुनले यस्तो प्रवृत्तिले लोकतान्त्रिक विधि र कानुनी शासन कमजोर बनाउने बताए।




प्रतिक्रिया