काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ४८ लघुवित्त वित्तीय संस्थाले कुल २ अर्ब १३ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । समीक्षा अवधिमा ४१ कम्पनी नाफामा रहँदा ७ कम्पनी घाटामा देखिएका छन् ।
सबैभन्दा बढी नाफा छिमेक लघुवित्तले २७ करोड ३३ लाख ६४ हजार रुपैयाँ कमाएको छ । त्यस्तै, डिप्रोक्स लघुवित्तले २१ करोड ९९ लाख ३० हजार र जीवन विकास लघुवित्तले २० करोड १५ लाख १० हजार रुपैयाँ नाफा कमाएका छन् ।
यसैगरी, नेसनल माइक्रोफाइनान्सले १९ करोड ५ लाख २७ हजार र साना किसान विकास लघुवित्तले १८ करोड ३६ लाख १५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
घाटामा रहेका कम्पनीमध्ये सीवाईसी नेपाल लघुवित्तको घाटा सबैभन्दा बढी ७ करोड ४४ लाख ६८ हजार रुपैयाँ रहेको छ । विजय लघुवित्त ६ करोड ६९ लाख ८७ हजार र नेरुडे मिर्मिरे लघुवित्त २ करोड ८० लाख रुपैयाँ घाटामा छन् ।
यता, लघुवित्त क्षेत्रको खराब कर्जा अनुपात पनि उच्च देखिएको छ । मातृभूमि लघुवित्तको खराब कर्जा सबैभन्दा बढी २७.०२ प्रतिशत छ । नेरुडे मिर्मिरेको २१.७३ प्रतिशत, आरम्भ चौतारीको २१.२६ प्रतिशत, धौलागिरीको २१.०५ प्रतिशत र समता घरेलुको २०.५० प्रतिशत खराब कर्जा रहेको छ ।
समग्र लघुवित्त कम्पनीहरुको चुक्ता पुँजी ४० अर्ब ६७ करोड ५२ लाख रुपैयाँ र जगेडा कोष ३५ अर्ब ७७ करोड २९ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कुल वितरणयोग्य नाफा ९ अर्ब २० करोड ११ लाख रुपैयाँ रहेको छ ।




प्रतिक्रिया