ADVERTISEMENT

तरलता खिच्न राष्ट्र बैंकको ब्याज खर्च २२ अर्ब नाघ्यो

काठमाडौं । बैंकिङ प्रणालीमा निक्षेप बढ्दै गए पनि कर्जाको माग सुस्त हुँदा अतिरिक्त तरलता व्यवस्थापन राष्ट्र बैंकका लागि महँगो बन्दै गएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा बैंकिङ प्रणालीबाट तरलता प्रशोचन गर्दा नेपाल राष्ट्र बैंकले २२ अर्ब १२ करोड ९३ लाख रुपैयाँ ब्याज भुक्तानी गरेको छ ।

राष्ट्र बैंकको वार्षिक प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षमा यस्तो खर्च ९ अर्ब २ करोड ६५ लाख रुपैयाँ थियो । एक वर्षमै तरलता व्यवस्थापनको ब्याज खर्च १४५.१६ प्रतिशतले बढेको हो ।

बैंक तथा वित्तीय संस्थामा निक्षेप १४.६८ प्रतिशतले बढ्दा कर्जा प्रवाह भने ६.६० प्रतिशतले मात्रै विस्तार भएको छ । निक्षेपको तुलनामा कर्जा प्रवाह कमजोर हुँदा बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिएको हो ।

अतिरिक्त तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप संकलन बोलकबोल, स्थायी निक्षेप सुविधा र राष्ट्र बैंक ऋणपत्रलगायतका मौद्रिक उपकरण प्रयोग गर्दै आएको छ । गत आर्थिक वर्षमा यी उपकरणमार्फत कुल ४२५ खर्ब १६ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो ।

तरलता प्रशोचनमा भएको खर्च चार वर्षमै ३६ गुणाभन्दा बढी पुगेको छ । राष्ट्र बैंकले अतिरिक्त तरलता व्यवस्थापनमा ब्याज खर्च घटाउन नयाँ वित्तीय औजार र ‘स्टेरिलाइज्ड इन्टरभेन्सन’को विकल्पसमेत अध्ययन गरिरहेको छ ।

बैंकमा निक्षेप बढे पनि उत्पादन, उद्योग तथा व्यवसाय क्षेत्रमा कर्जाको माग बढ्न नसक्दा अतिरिक्त रकम परिचालन चुनौतीपूर्ण बनेको छ । कर्जाको माग र उत्पादनमूलक क्षेत्रमा लगानी नबढेसम्म राष्ट्र बैंकले ब्याज तिरेर तरलता खिच्नुपर्ने अवस्था कायम रहने देखिएको छ ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार