भारतीय विदेश सचिव काठमाडौंमा, आजै राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट्ने


काठमाडौ । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा भारतीय विदेश सचिव विक्रम मिस्री दुई दिने नेपाल भ्रमणका लागि काठमाडौँ आइपुगेका छन् । विदेश सचिव मिस्रीलाई आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव लम्सालले स्वागत गरेकी हुन् ।

उनले आजै राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्र सचिवलगायतसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । उनले नेपालस्थित भारतीय राजदूतावास कर्मचारीसँग छलफल गरेपछि दुई बजे राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने छन् ।

राष्ट्रपतिसँगको भेटपछि उनले तीन बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । सचिव मिस्रीले आइतबार नै उपप्रधानमन्त्रीद्वय विष्णु पौडेल र प्रकाशमान सिंहलाई छुट्टाछुट्टै भेट्ने कार्यक्रम पनि रहेको छ ।

आज नै परराष्ट्र सचिव लम्सालले सचिव मिस्रीका लागि रात्रिभोजको आयोजना गर्नेछिन् । सो कार्यक्रममा पनि नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ ।

सोमबार बिहान ११ः४५ बजे उनले परराष्ट्र मन्त्री आरजु राणा देउवालाई भेटेर साँझ भारत फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

त्यस्तै, भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पनि विदेश सचिवको भ्रमणले भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकतालाई प्रतिबिम्बित गर्ने विषय उल्लेख छ ।

नेपाली कांग्रेस–नेकपा एमाले गठबन्धनबाट एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि नेपालका लागि यो नै पहिलो उच्चस्तरीय भ्रमण हो ।

२०८१ श्रावण २७, आईतवार ११:४७ प्रकाशित
ट्रेन्डिङ समाचार