
–२६ हजार ६ सय १६ उजुरी फस्र्यौट, १९८ मुद्दा दायर
–१०१ जनप्रतिनिधिविरुद्ध भ्रष्टाचार मुद्दा
–मिलिमतोमा भ्रष्टाचार गर्ने ९१ व्यवसायीविरुद्ध पनि मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गतआर्थिक वर्ष २०८०÷८१को एक वर्षको अवधिमा भ्रष्टाचारमा संलग्न ५ सय २० जना राष्ट्रसेवक कर्मचारीमाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारको सक्रियतासँगै भ्रष्टाचारमा संलग्न राष्ट्रसेवकदेखि अन्य व्यक्तिसमेत धमाधम कानुनी कठघरामा आएका छन् ।
अख्तियारले गत एक वर्षमा १ हजार ५ सय १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरी उच्च सक्रियता देखाएको हो । भ्रष्टाचार गर्नेहरूविरुद्ध निर्मम अप्रेसन थालेको अख्तियारले मुद्दा दायर गर्ने क्रमलाई तीव्रता दिएको छ ।
गत एक वर्षको अवधिमा अख्तियारमा ३५ हजार ३ सय ७२ वटा उजुरी परेकोमा २६ हजार ६ सय १६ उजुरीको फस्र्यौट गरी अख्तियारले आफ्नो सक्रियतालाई व्यापक पारेको हो ।
यस अवधिमा अख्तियारले विभिन्न अनियमितताका १९८ वटा मुद्दा दायर गरेको छ । मुद्दा दायर भएकामा ५२० जना राष्ट्रसेवक कर्मचारी परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले पछिल्ला वर्षमा अख्तियारले भ्रष्टाचारविरुद्धको छानबिन र अनुसन्धानको गतिलाई तीव्रता दिएको बताए । पछिल्ला दिनमा अख्तियारले नेपाल सरकारका मुख्यसचिव, प्रदेश सरकारका बहालवाला मन्त्री, तथा केन्द्रीय सरकारका पुर्वमन्त्रीलाई समेत भ्रष्टाचारमा छानबिन गरी मुद्दा दायर गर्दै आएको छ ।
यसैगरी अख्तियारले यस अवधिमा सरकारका सबैभन्दा माथिल्लो दर्जाको रूपमा रहेको विशिष्ट श्रेणी(सचिवस्तर)का १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । यसैगरी, सरकारको उच्च तह मानिने सहसचिवस्तरका २५ जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
यस्तै गत एक वर्षमा मुद्दा दायर हुनेमा सरकारका उपसचिवस्तरका ७२ जना , शाखा अधिकृतस्तरका १६७ जना, लेखापालस्तरका ५४ जना, नायबसुब्बा स्तरका १४४ जना , खरिदारस्तरका ३१ जना र कार्यालय सहयोगी २ जना रहेका छन् ।
अख्तियारले स्थानीय तहमा भएका विभिन्न प्रकृतिका अनियमिततामा छानबिन र अनुसन्धान गरी स्थानीय तहसँग सम्वन्धित ८० वटा मुद्दा दायर गरेको छ । सो मुद्दामा जोडिएका ४ सय ३३ जनालाई भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
जसमा नगरप्रमुख , उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वाडाध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्य गरी १सय १ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
यस्तै सरकारी अधिकारीहरुसँग मिलिमतो गरी भ्रष्टाचार गर्ने ९१ जना व्यवसायीहरुविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
राष्ट्रसेवक कर्मचारीतर्फ दायर मुद्दामा को कति ?
विशिष्ट श्रेणी : १२
सहसचिवस्तर : २५
उपसचिवस्तर : ७२
शाखा अधिकृतस्तर : १६७
लेखापाल : ५४
नासुस्तर : १४४
खरिदार : ३१
कार्यालय सहयोगी : २