ADVERTISEMENT

फास्ट ट्रयाकमा अर्को उपलब्धि, सबैभन्दा लामो सुरुङ भोलि बुधबार ‘ब्रेकथ्रु’ हुँदै

३ हजार ४५५ मिटर लामो महादेवटार सुरुङको दायाँ ट्युब ‘ब्रेकथ्रु’ , द्रुतमार्गका सातमध्ये तीन सुरुङ वारपार

काठमाडौं । काठमाडौं–तराई/मधेश द्रुतमार्ग निर्माणले अर्को महत्वपूर्ण उपलब्धि हासिल गर्ने भएको छ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको द्रुतमार्गमा निर्माणाधीन सबैभन्दा लामो महादेवटार सुरुङमार्गको दायाँ ट्युब बुधबार ‘ब्रेकथ्रु’ हुने भएको छ। यससँगै आयोजनाको सुरुङ निर्माण कार्यले थप महत्वपूर्ण चरण पार गर्नेछ।

नेपाली सेनाका अनुसार ३ हजार ४५५ मिटर लम्बाइको महादेवटार सुरुङको दायाँ ट्युब बुधबार छिचोलिन लागेको हो। उक्त ऐतिहासिक क्षणमा राष्ट्रपति रामचन्द्र पौडेलसमेत सहभागी हुने कार्यक्रम छ।

यसअघि गत भदौमा सोही सुरुङको बायाँ ट्युब ‘ब्रेकथ्रु’ भइसकेको छ। बुधबार दायाँ ट्युबसमेत छिचोलिएपछि द्रुतमार्गको सबैभन्दा लामो सुरुङको दुवैतर्फको खन्ने काम सम्पन्न हुनेछ। यो आयोजनाको प्राविधिक तथा निर्माणगत प्रगतिका दृष्टिले महत्वपूर्ण उपलब्धि मानिएको छ।

नेपाली सेनाका सूचना अधिकारी तथा सहायक रथी राजाराम बस्नेतले महादेवटार सुरुङको दायाँ ट्युब बुधबार ‘ब्रेकथ्रु’ हुने जानकारी दिए। उनका अनुसार यो द्रुतमार्गमा निर्माण भइरहेका सातवटा सुरुङमध्ये सबैभन्दा लामो सुरुङ हो।

सात सुरुङमध्ये तीनको ‘ब्रेकथ्रु’

काठमाडौंलाई तराई–मधेशसँग छोटो दूरीमा जोड्ने उद्देश्यले निर्माण भइरहेको द्रुतमार्गमा कुल ११ दशमलव २ किलोमिटर लम्बाइका सातवटा सुरुङ निर्माण भइरहेका छन्। महादेवटारको दायाँ ट्युब छिचोलिएसँगै आयोजनाका तीनवटा सुरुङ ‘ब्रेकथ्रु’ हुनेछन्।

यसअघि १ हजार ६९१ मिटर लामो धेद्रे र १ हजार ६२३ मिटर लामो लेनडाँडा सुरुङ ‘ब्रेकथ्रु’ भइसकेका छन्। अब २ हजार २३७ मिटरको चन्द्राम भीर, १ हजार मिटरको देवीचौर, ३९० मिटरको सिसौटार र ५८३ मिटरको मौरीभीर सुरुङ छिचोल्न बाँकी छ।

बाँकी सुरुङमध्ये मौरीभीरको ठेक्का प्रक्रिया नै अघि बढ्न सकेको छैन। अन्य सुरुङको निर्माण कार्य भने जारी छ।

सुरुङ निर्माणमा हासिल भइरहेको प्रगतिले द्रुतमार्गको समग्र निर्माणलाई महत्वपूर्ण आधार प्रदान गर्ने अपेक्षा गरिएको छ। पहाडी भूगोल, कठिन चट्टानी संरचना र जटिल भौगर्भिक अवस्थाका कारण यस आयोजनामा सुरुङ तथा पुल निर्माणलाई मुख्य प्राविधिक चुनौतीका रूपमा लिइएको छ।

भौतिक प्रगति ५० प्रतिशत, समयसीमा फेरि तीन वर्ष थप

द्रुतमार्ग निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिइएको करिब नौ वर्ष पुग्न लाग्दा आयोजनाको समग्र भौतिक प्रगति भने ५० प्रतिशतको हाराहारीमा पुगेको छ।

सेनाका अनुसार २०८३ भदौ मसान्तसम्म आयोजनाको भौतिक प्रगति ५० प्रतिशत र वित्तीय प्रगति ५१ दशमलव ४७ प्रतिशत पुगेको छ।

सरकारले २०७४ वैशाख २१ गते चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित द्रुतमार्ग निर्माण व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई सुम्पेको थियो। तर, निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि पटकपटक म्याद थपिँदै आएको छ।

पछिल्लो पटक २०८३ चैत मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको थियो। उक्त समयभित्र पनि आयोजना पूरा नहुने देखिएपछि गत साउन २० गते बसेको मन्त्रिपरिषद् बैठकले पुनः तीन वर्ष म्याद थप गरेको थियो। नयाँ समयसीमाअनुसार अब द्रुतमार्ग २०८६ चैत मसान्तसम्म सम्पन्न गर्नुपर्नेछ।

सुरुङ निर्माणमा महत्वपूर्ण उपलब्धि हासिल भइरहे पनि समग्र आयोजनाको भौतिक प्रगति, बाँकी कामको गति र थपिएको समयसीमाभित्र निर्माण सम्पन्न गर्ने चुनौती भने कायमै छ।

८९ पुलमध्ये ८५ निर्माणको चरणमा

द्रुतमार्गमा सुरुङसँगै पुल निर्माण पनि आयोजनाको महत्वपूर्ण हिस्सा हो। आयोजनाअन्तर्गत विभिन्न स्थानमा गरी ८९ वटा पुल निर्माण गर्नुपर्नेछ। तीमध्ये ८५ वटा पुलको खरिद सम्झौता भई निर्माण प्रक्रिया अघि बढेको नेपाली सेनाले जनाएको छ।

निर्माणाधीन अधिकांश पुलको जग निर्माण सम्पन्न भई माथिल्लो संरचना निर्माणको काम भइरहेको छ। सेनाका अनुसार हालसम्म ५७ वटा पुलको फाउन्डेसन, ३८ वटाको सबस्ट्रक्चर र १६ वटाको सुपरस्ट्रक्चर निर्माण सम्पन्न भएको छ।

भौगोलिक रूपमा कठिन क्षेत्रमा निर्माण गर्नुपर्ने भएकाले पुल तथा सुरुङ दुवै संरचनाको काम समयमै सम्पन्न गर्नु आयोजनाका लागि चुनौतीपूर्ण छ। त्यसैले निर्माणको गति र ठेकेदारको कार्यसम्पादनलाई प्रभावकारी रूपमा अनुगमन गर्नुपर्ने आवश्यकता देखिएको छ।

खोकना खण्ड अझै अन्योलमा, शून्य विन्दु नै टुंगिएन

द्रुतमार्ग निर्माणको अर्को महत्वपूर्ण चुनौती काठमाडौं प्रवेश गर्ने अन्तिम खण्ड हो। आयोजनालाई ११ वटा प्याकेजमा विभाजन गरी निर्माण अघि बढाइएको भए पनि प्याकेज ११ अन्तर्गतको डुकुछाप–फर्सिडोल–खोकना खण्ड अझै विवाद र जग्गा अधिग्रहणसम्बन्धी समस्यामा अल्झिएको छ।

करिब साढे ६ किलोमिटर लामो उक्त खण्डमा जग्गा अधिग्रहणसम्बन्धी समस्या समाधान हुन नसक्दा ठेक्का प्रक्रिया अघि बढ्न सकेको छैन। नेपाली सेनाले विवादित उक्त खण्डलाई तत्कालका लागि थाती राखेर बाँकी १० वटा प्याकेजमा निर्माण कार्य अघि बढाइरहेको छ।

सुरुदेखि नै बाराको निजगढ र ललितपुरको खोकनालाई द्रुतमार्गको क्रमशः अन्तिम र प्रारम्भिक विन्दु कायम गर्ने गरी डिजाइन तथा निर्माणको अवधारणा अघि सारिएको थियो। निजगढमा पूर्व–पश्चिम राजमार्ग र खोकनामा काठमाडौं उपत्यकाको बाहिरी चक्रपथसँग जोड्ने योजना थियो।

तर खोकना क्षेत्रको जग्गा अधिग्रहण, स्थानीयको असहमति तथा अन्य विवाद समाधान हुन नसक्दा काठमाडौं प्रवेश गर्ने शून्य विन्दु अझै निश्चित हुन सकेको छैन। बाहिरी चक्रपथ निर्माणको भविष्यसमेत अन्योलमा रहेकाले सरकारले खोकनाको सट्टा चोभारलाई द्रुतमार्गको काठमाडौंस्थित शून्य विन्दु बनाउने विकल्पमाथि समेत छलफल गरिरहेको छ।

यसरी आयोजनाको मुख्य संरचनामा निर्माणले गति लिँदै गर्दा काठमाडौं प्रवेश गर्ने अन्तिम खण्डको अन्योल भने कायमै छ।

द्रुतमार्ग सञ्चालनमा आएपछि काठमाडौं र तराई–मधेशबीचको सडक दूरी तथा यात्रा समय उल्लेख्य रूपमा घट्ने अपेक्षा गरिएको छ। यसले राजधानी र मधेशबीचको आवागमन, व्यापार, पर्यटन तथा आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

तर, सुरुङ र पुल निर्माणमा देखिएको प्रगतिलाई समयमै पूर्ण सडक सञ्जालमा रूपान्तरण गर्नु, खोकना खण्डको विवाद समाधान गर्नु र थपिएको समयसीमाभित्र आयोजना सम्पन्न गर्नु सरकार तथा नेपाली सेनाका लागि मुख्य चुनौती बनेको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार