काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उत्पादन तथा उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना र लगानी विस्तारलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताएका छन्।
नेपाल बैंक लिमिटेडको ९०औँ वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री वाग्लेले नेपालको अर्थतन्त्र अहिले महत्त्वपूर्ण संक्रमण र सम्भावनाको मोडमा रहेको उल्लेख गरे। उनले बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जालाई अनुत्पादक क्षेत्रबाट उत्पादनशील क्षेत्रमा केन्द्रित गर्नुपर्नेमा जोड दिए।
उनले बैंकिङ क्षेत्रप्रति जनविश्वास कायम राख्न पारदर्शिता, जवाफदेहिता, व्यावसायिक कार्यशैली र प्रभावकारी जोखिम व्यवस्थापन अपरिहार्य रहेको बताए। साथै, बैंकिङ सेवालाई सरल, सुरक्षित, छरितो र प्रविधिमैत्री बनाउँदै साइबर सुरक्षा तथा तथ्यांक संरक्षणलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरे।
नेपाल बैंक लिमिटेडको ऐतिहासिक विरासत र संस्थागत गौरवलाई भावी सफलतामा रूपान्तरण गर्नु सबैको साझा दायित्व भएको उनको भनाइ थियो। मन्त्री वाग्लेले बैंकिङ क्षेत्रको सुधार, संस्थागत सुदृढीकरण र वित्तीय स्थायित्वका लागि आवश्यक नीतिगत सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट पारे।





प्रतिक्रिया