काठमाडौं । तिहारमा देउसी–भैलो खेल्ने नाममा अब मनपरी गर्न पाइने छैन । काठमाडौं जिल्ला प्रशासन कार्यालयले देउसी–भैलो कार्यक्रमलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन काठमाडौंवासीका लागि १० बुँदे नियम जारी गरेको छ ।देउसी–भैलोका नाममा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, अत्यधिक आवाजमा माइक तथा लाउडस्पिकर बजाउने, जबर्जस्ती चन्दा माग्ने, पटाका पड्काउने र अरूलाई दुःख दिने गतिविधिमाथि प्रशासनले रोक लगाएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले बिहीबार सूचना जारी गर्दै तिहारको सांस्कृतिक महत्त्व कायम राख्दै शान्ति सुरक्षा, सामाजिक सद्भाव र नागरिकको सहज आवागमन सुनिश्चित गर्न देउसी–भैलो खेल्दा अनिवार्य रूपमा पालना गर्नुपर्ने १० बुँदे निर्देशन सार्वजनिक गरेका हुन् ।
प्रशासनले देउसी–भैलो नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षण हुने गरी सञ्चालन गर्न आग्रह गर्दै सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुर्याउने, अरूको अधिकार र स्वतन्त्रतामा असर पार्ने तथा सार्वजनिक शान्ति भंग गर्ने गतिविधि नगर्न स्पष्ट निर्देशन दिएको छ ।
देउसी–भैलो खेल्दा काठमाडौंवासीले पालना गर्नुपर्ने १० नियम
जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको निर्देशनअनुसार देउसी–भैलो खेल्ने समूह तथा सहभागीहरूले निम्न नियम पालना गर्नुपर्नेछ ।
१. मर्यादित र अनुशासित हुनुपर्ने : नेपाली मौलिक संस्कृति, परम्परा र सामाजिक सद्भावको संरक्षण हुने गरी देउसी–भैलो सञ्चालन गर्नुपर्ने ।
२. मादक पदार्थ र होहल्ला निषेध : मादक पदार्थ सेवन गरी कार्यक्रम सञ्चालन गर्ने, होहल्ला गर्ने, झैँझगडा गर्ने वा सार्वजनिक शान्ति भंग गर्न नपाइने ।
३. चर्को आवाजमा माइक बजाउन नपाइने : ध्वनि प्रदूषण हुने गरी अत्यधिक ठूलो आवाजमा माइक, लाउडस्पिकर, बाजा तथा अन्य ध्वनि उपकरण प्रयोग गर्न निषेध । अस्पताल, विद्यालय, वृद्धाश्रमलगायत संवेदनशील क्षेत्रमा विशेष सावधानी अपनाउनुपर्ने ।
४. जबर्जस्ती प्रवेश र चन्दा निषेध : घर, निजी कार्यालय, व्यवसायिक प्रतिष्ठान वा अन्य स्थानमा जबर्जस्ती प्रवेश गर्न, क्षति पुर्याउन वा अनुमति नदिएको स्थानमा देउसी–भैलो खेल्न नपाइने । चन्दा पनि जबर्जस्ती माग्न नपाइने ।
५. पटाका र विस्फोटक पदार्थ निषेध : पटाका, आतिसबाजी, भुइँचम्पा, रकेट, विस्फोटक तथा आगलागी वा चोटपटकको जोखिम हुने पदार्थ प्रयोग, उत्पादन, बिक्री, वितरण र भण्डारण गर्न नपाइने ।
६. आवागमनमा अवरोध गर्न नपाइने : देउसी–भैलो खेल्दा सडक, पैदलयात्री, सवारीसाधन तथा सार्वजनिक स्थानको आवागमन अवरुद्ध हुने गरी कार्यक्रम सञ्चालन गर्न नपाइने ।
७. जबर्जस्ती पैसा माग्न र धम्क्याउन निषेध : सर्वसाधारण, व्यवसायी, घरधनी वा अन्य व्यक्तिसँग जबर्जस्ती रकम माग्ने, दबाब दिने, धम्क्याउने वा अभद्र व्यवहार गर्न नपाइने ।
८. बालबालिकाको सुरक्षामा विशेष ध्यान : देउसी–भैलोमा सहभागी बालबालिकालाई अभिभावकले निगरानीमा राख्नुपर्ने । असुरक्षित स्थानमा लैजाने वा जोखिमपूर्ण गतिविधिमा संलग्न गराउन नहुने ।
९. सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति गर्न नपाइने : सम्पत्ति तोडफोड, फोहोरमैला गर्ने, सार्वजनिक स्थानमा अव्यवस्थित भीड जम्मा गर्ने वा अरूको अधिकार तथा स्वतन्त्रतामा असर पार्ने गतिविधि गर्न निषेध ।
१०. कानुन र ध्वनि प्रदूषण मापदण्ड पालना गर्नुपर्ने : देउसी–भैलो सञ्चालन गर्दा प्रचलित कानुन तथा ध्वनि प्रदूषण नियन्त्रणसम्बन्धी मापदण्ड अनिवार्य पालना गर्नुपर्ने ।
तिहारको रमाइलो अरूलाई सास्ती नबनोस्
काठमाडौं प्रशासनले देउसी–भैलो नेपाली संस्कृति, परम्परा र सामाजिक सद्भावको संरक्षण हुने गरी सञ्चालन गर्न आग्रह गरेको छ । तिहारको उल्लासमा अरूको शान्ति, सुरक्षा र सहज आवागमनमा बाधा पुर्याउने गतिविधि नगर्न प्रशासनले काठमाडौंवासीलाई सचेत गराएको छ ।
देउसी–भैलो संस्कृति संरक्षण र सामाजिक सद्भावको माध्यम बन्नुपर्नेमा जोड दिँदै प्रशासनले सबैलाई जिम्मेवार, अनुशासित र मर्यादित रूपमा पर्व मनाउन आग्रह गरेको छ ।





प्रतिक्रिया