काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ । धन, समृद्धि र आरोग्यको कामनासहित मनाइने धनतेरस पर्व आज विशेष पूजा र धार्मिक विधिसहित मनाइँदैछ ।
धनतेरसका अवसरमा नयाँ सुनचाँदीका गरगहना, सिक्का तथा धातुका भाँडाकुँडा खरिद गरी घरमा ल्याउने र पूजा गर्ने परम्परा छ । धनतेरसलाई धन, सुख, समृद्धि र शुभलाभको प्रतीकका रूपमा लिने गरिन्छ ।
यस वर्ष तिथिको घटबढका कारण तिहारका विभिन्न पर्वहरू सामान्यभन्दा फरक दिनमा परेको छ । शनिबार कागपूजा र धन्वन्तरी जयन्ती मनाइनेछ भने आइतबार बिहान कुकुर पूजा र सोही दिन साँझ लक्ष्मीपूजा गरिनेछ । कात्तिक २५ गते मंगलबार भाइटीका परेको छ ।
चन्द्रमासअनुसार कात्तिक कृष्णपक्षको त्रयोदशीदेखि कात्तिक शुक्लपक्षको द्वितीयासम्म पाँच दिन मनाइने तिहार यस वर्ष तिथिको घटबढका कारण छ दिनसम्म मनाइने भएको छ ।
धनतेरसका लागि आज सूर्योदय हुँदा द्वादशी तिथि रहे पनि मध्याह्नअघि नै त्रयोदशी सुरु हुने भएकाले आजै धनतेरस मनाउन लागिएको हो । पण्डित नारायणप्रसाद दुलालका अनुसार आज बिहान ११ बजेर १० मिनेटपछि त्रयोदशी तिथि सुरु हुनेछ । उक्त तिथि भोलि शनिबार बिहान १० बजेर ४७ मिनेटसम्म रहनेछ ।
तिहारलाई उज्यालो, उत्साह, आपसी सद्भाव, पारिवारिक मिलन र सांस्कृतिक उल्लासको पर्वका रूपमा लिइन्छ । पाँच दिनसम्म मनाइने यस पर्वमा प्रकृति, पशुपक्षी, धनसम्पत्ति र दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्धलाई विशेष सम्मान गर्ने धार्मिक तथा सांस्कृतिक परम्परा रहिआएको छ ।




प्रतिक्रिया