ललितपुर। पाटनको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत अष्टमातृका नाच (गँः प्याखँ) ११ दिनसम्म प्रदर्शन गरी सम्पन्न भएको छ।
हरेक वर्ष घटस्थापनादेखि सुरु हुने यो नाच यस वर्ष पनि परम्परागत तान्त्रिक विधि र धार्मिक आस्थाका साथ प्रदर्शन गरिएको अष्टमातृका नाच व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र शाक्यले जानकारी दिए।
मल्लकालीन राजा श्रीनिवास मल्लको शासनकालमा नेपाल संवत् ७८४ देखि सुरु भएको मानिने यो नाचमा नेवार समुदायका शाक्य र बज्राचार्य वंशका कलाकार सहभागी हुन्छन्। नाचमा विभिन्न देवीदेवताका मुकुन्डो, परम्परागत भेषभूषा र गरगहना लगाएका १३ देवगणले तान्त्रिक विधिअनुसार नृत्य प्रस्तुत गर्छन्।
नकबहिल, पाटन दरबार क्षेत्रको मूलचोक र कात्तिक डबलीलगायत स्थानमा प्रदर्शन गरिएको नाचको अन्तिम दिन एकादशीमा नकबहिल डबलीमा विशेष नृत्य प्रस्तुत गरिएको थियो। देशमा शान्ति, सुरक्षा र समृद्धि कायम हुने धार्मिक विश्वाससँग जोडिएको यस नाचले नेवा सभ्यताको मौलिकता र सांस्कृतिक परम्परालाई जीवन्त राख्दै आएको छ।




प्रतिक्रिया