काठमाडौं । नेपाल राष्ट्र बैंकले १ रुपैयाँ दरका ४० करोड थान सिक्का डिजाइन, टकमरी तथा आपूर्तिका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले यसअघि पूर्व–योग्यता सूचीमा परेका विदेशी कम्पनी वा तिनका आधिकारिक एजेन्टबाट सिलबन्दी प्रस्ताव माग गरेको हो। बोलपत्र प्रक्रिया एकल चरण, दुई खाम विधिबाट अघि बढाइनेछ।
इच्छुक कम्पनीहरूले आगामी २ नोभेम्बर २०२६ सम्म बोलपत्र फाराम खरिद गर्न सक्नेछन्। फाराम दस्तुर २० हजार रुपैयाँ तोकिएको छ। बोलपत्रसम्बन्धी छलफलका लागि १५ अक्टोबर २०२६ मा थापाथलीस्थित मुद्रा व्यवस्थापन विभागमा प्रि–बिड बैठक आयोजना गरिनेछ।
कम्पनीहरूले ३ नोभेम्बर २०२६ दिउँसो १२ बजेसम्म बोलपत्र पेस गर्नुपर्नेछ। प्राप्त बोलपत्र सोही दिन दिउँसो १ बजे बोलपत्रदाता वा उनका प्रतिनिधिको उपस्थितिमा खोलिनेछ।
बोलपत्र पेस गर्दा कम्तीमा १ लाख ४८ हजार अमेरिकी डलर बराबरको बिड सेक्युरिटी पेस गर्नुपर्नेछ। बोलपत्र खोलेको मितिदेखि प्रस्तावको मान्य अवधि १२० दिन रहनेछ भने धरौटीको म्याद २ अप्रिल २०२७ सम्म कायम हुनुपर्नेछ।
सार्वजनिक खरिद ऐन, २०६३ अनुसार कालोसूचीमा परेका कम्पनी, फर्म वा सञ्चालकहरू भने बोलपत्र प्रक्रियामा सहभागी हुन पाउने छैनन्।





प्रतिक्रिया