काठमाडौँ । केयररेटिङ नेपालले नगरकोट रिसोर्ट लिमिटेड (एनआरएल) लाई प्रदान गर्दै आएको ‘CARE-NP BB (Is)’ रेटिङ पुनः पुष्टि गरेको छ। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै भुक्तानी गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।
रिसोर्टले हाल सञ्चालनमा रहेका २४ वटा कोठालाई विस्तार गरी कुल ८५ कोठा पुर्याउने योजना अघि बढाएको छ। ८० करोड १० लाख रुपैयाँ अनुमानित लागत रहेको विस्तार परियोजनामा २७ करोड ३० लाख रुपैयाँ बैंक कर्जा र बाँकी रकम प्रवर्द्धकहरूको स्वपूँजीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ।
रेटिङ एजेन्सीका अनुसार सन् २०२६ सेप्टेम्बर २१ सम्म परियोजनाको ९८ प्रतिशत वित्तीय प्रगति भएको छ। हालसम्म ७८ करोड ६० लाख रुपैयाँ खर्च भइसकेको छ, जसमा २४ करोड रुपैयाँ ऋण र बाँकी प्रवर्द्धक स्वपूँजीबाट व्यवस्थापन गरिएको छ।
सन् २०२६ का पहिलो आठ महिनामा रिसोर्टले ५ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको ४ करोड ९० लाख रुपैयाँको तुलनामा सुधार हो। औसत कोठा दर आव २०८१/८२ को ७ हजार ४०१ रुपैयाँबाट बढेर आव २०८२/८३ मा ८ हजार ८७६ रुपैयाँ पुगेको छ। यस अवधिमा अक्युपेन्सी दर भने करिब ६० प्रतिशतको हाराहारीमा रहेको छ।
रिसोर्टले ५९.१८ प्रतिशत सञ्चालन मुनाफा र २ करोड रुपैयाँ कुल नगद प्रवाह हासिल गरेको छ। अनुभवी सञ्चालक समिति तथा व्यवस्थापन, नगरकोटको रणनीतिक पर्यटकीय अवस्थिति र पर्यटन पूर्वाधारमा बढ्दो प्राथमिकतालाई कम्पनीका सबल पक्षका रूपमा औंल्याइएको छ।
तर, थप ६१ वटा कोठा समयमै र अनुमानित लागतभित्र निर्माण सम्पन्न गर्नु, विस्तारपछि अक्युपेन्सी कायम राख्नु तथा नगरकोटमा थपिँदै गएका होटलका कारण औसत कोठा दरमा पर्न सक्ने दबाब कम्पनीका प्रमुख चुनौती हुन्। एउटै सम्पत्तिमा निर्भरता र बैंक तथा वित्तीय संस्थाको आधार दरमा हुने उतारचढावबाट कर्जाको ब्याजदरमा पर्न सक्ने प्रभावलाई पनि जोखिमका रूपमा उल्लेख गरिएको छ।
सन् २०१८ अप्रिल ११ मा स्थापना भएको नगरकोट रिसोर्ट सन् २०२३ जुलाई ७ मा पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको हो। रिसोर्टले निजी बाल्कोनी, आधुनिक सुविधा र नगरकोटको मनोरम दृश्यसहितको लक्जरी आतिथ्य सेवा प्रदान गर्दै आएको छ।





प्रतिक्रिया