ADVERTISEMENT

बाढीपहिरोले १,३०३ मेगावाट विद्युत् आपूर्ति प्रभावित


काठमाडौं । अविरल वर्षापछि आएको बाढीपहिरोका कारण देशको विद्युत् प्रणालीमा ठूलो क्षति पुगेको छ। ऊर्जा मन्त्रालयका अनुसार विभिन्न जलविद्युत् आयोजना, प्रसारण लाइन र सबस्टेसनमा क्षति हुँदा करिब १ हजार ३०३ मेगावाट बराबरको विद्युत् आपूर्ति प्रभावित भएको छ।

पोखरा क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ। कुस्मा–न्यू बुटवल २२० केभी तथा राहुघाट–दाना प्रसारण लाइनमा समस्या आउनुका साथै कालीगण्डकी, अपर मादी, सुपर मादी, सिक्लेस–नामर्जुङ, सेती नदी–करुवासेट, अपर दोर्दी र मोदीलगायतका आयोजनाको उत्पादन प्रभावित भएको छ।

बुटवल, हेटौंडा र वीरगञ्ज क्षेत्रमा पनि प्रसारण लाइन तथा सबस्टेसनमा क्षति हुँदा उद्योगसहित विभिन्न क्षेत्रमा विद्युत् कटौती गरिएको छ। काठमाडौंमा समेत पाटन र टेकु सबस्टेसनमा ओभरलोडका कारण केही समय विद्युत् अवरुद्ध भएको थियो।

प्राविधिकहरूका अनुसार १ हजार ३०३ मेगावाटको आँकडा एकैपटक भएको विद्युत् अवरोध नभई विभिन्न समयमा लाइन, सबस्टेसन र उद्योग क्षेत्रमा भएको अवरोधको कुल योग हो। क्षतिग्रस्त संरचनाको मर्मत गरी विद्युत् प्रणालीलाई सामान्य अवस्थामा फर्काउने काम भइरहेको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार