म्याद गुज्रेका सामग्रीबाट गुँदपाक–पुष्टकारी, उद्योग सिल


काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा बजार अनुगमनका क्रममा म्याद गुज्रेका तथा किरा परेका सामग्री प्रयोग गरी गुँदपाक र पुष्टकारी उत्पादन भइरहेको भेटिएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चन्द्रागिरि–१५ ढुंगेअड्डामा गरेको अनुगमनका क्रममा ‘श्री कृष्ण पुष्टकारी तथा गुँदपाक भण्डार’मा म्याद नाघेका चिउरा, चकलेट, बिस्कुट, किरा परेको चना, चनाको पिठो, बदामलगायत सामग्री भेटाएको हो।

विभागका अनुसार उक्त उद्योगबाट ठूलो परिमाणमा अखाद्य कच्चापदार्थ तथा त्यसबाट तयार करिब ६ सय ३५ किलो गुँदपाक र पुष्टकारी जफत गरी नष्ट गरिएको छ। खाद्य अनुज्ञापत्रसमेत नलिएको उक्त उद्योग सिलबन्दी गरिएको छ।

त्यस्तै, नजिकैको ‘बज्रबाराही भण्डार’मा पनि शंकास्पद कच्चापदार्थ प्रयोग गरी उत्पादन भइरहेको भेटिएपछि करिब ३ सय ५० किलो तयारी खाद्य पदार्थ नष्ट गरी उद्योग सिल गरिएको विभागले जनाएको छ।

स्वयम्भू क्षेत्रमा गरिएको अनुगमनमा म्याद गुज्रेका सुजी, ब्रेडक्रम्ब, थाइम र राजमालगायत खाद्य पदार्थ बिक्रीका लागि राखिएको भेटिएको छ। यस्तै, बजारबाट संकलित एक ब्रान्डको चिया प्रयोगशाला परीक्षणमा दूषित प्रमाणित भएपछि सम्बन्धित ब्याचका उत्पादन फिर्ता गर्न विभागले निर्देशन दिएको छ।

विभागले अखाद्य सामग्री प्रयोग गर्ने व्यवसायीमाथि खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार कानुनी कारबाही अघि बढाउने जनाएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार