गण्डक ब्यारेजमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह


काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रमा पर्ने गण्डक ब्यारेजमा पानीको बहाव बढेको छ। शनिबार बिहान ९ बजेको मापनअनुसार ब्यारेजबाट २ लाख ७३ हजार ६ सय क्युसेक पानी प्रवाह भइरहेको छ।

ब्यारेजको माथिल्लो तटीय क्षेत्रमा पानीको सतह ३५९.४० फिट र तल्लो तटीय क्षेत्रमा ३५६.८० फिट मापन गरिएको छ। पुरानो संरचना रहेको गण्डक ब्यारेजमा ३ लाख क्युसेक पानीको बहावलाई जोखिमको सूचक मानिँदै आएको छ।

यता, नेपालतर्फ देवघाटमा बिहान ८ः३५ बजे ३ लाख ४८ हजार क्युसेक पानीको बहाव मापन भएको छ। देवघाटमा पानीको बहाव बढ्दो क्रममा रहेकाले यसको प्रभाव गण्डक ब्यारेजमा समेत पर्न सक्ने जनाइएको छ।

सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै गण्डक ब्यारेज तथा नारायणी नदीको तल्लो तटीय क्षेत्रमा रहेका बासिन्दालाई नदीको जलस्तर र बहावमा हुने परिवर्तनप्रति सतर्क रहन आग्रह गरिएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार