चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता


काठमाडौँ । चाडपर्वका बेला सार्वजनिक यातायातको टिकट बिक्रीलाई व्यवस्थित बनाउन अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यात्रुको सहज र सुरक्षित आवागमनका लागि अग्रिम टिकट बुकिङको व्यवस्था मिलाउन यातायात व्यवसायीलाई निर्देशन दिएको हो।

महासङ्घका महासचिव डेकनाथ गौतमले जारी गरेको विज्ञप्तिमा भारी वर्षा तथा बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै सार्वजनिक यातायात सञ्चालनलाई व्यवस्थित बनाउन विभिन्न व्यवस्था गरिएको जनाइएको छ।

महासङ्घले यात्रुको परिचय खुल्ने विवरणसहितको चलानी लिएर मात्र सवारी सञ्चालन गर्न, आधिकारिक काउन्टर तथा परिचयपत्र भएका कर्मचारीबाट मात्र टिकट बिक्री गर्न र यात्रुले अनिवार्य टिकट लिएर यात्रा गर्न आग्रह गरेको छ।

त्यस्तै, लामो दूरीका सवारीसाधनमा चालकको स्वास्थ्य जाँच, बिरामी चालकको स्थानमा वैकल्पिक चालकको व्यवस्था तथा कम्तीमा दुई चालक राख्न व्यवसायीलाई आग्रह गरिएको छ। १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई चालक वा अन्य काममा नलगाउन पनि निर्देशन दिइएको छ।

बाढीपहिरो र सडक अवरोधको जोखिमलाई ध्यानमा राख्दै मुख्य सडक तथा राजमार्गको नियमित निरीक्षण, मर्मतसम्भार र पहिरो नियन्त्रणलाई प्राथमिकता दिन सम्बन्धित निकायलाई आग्रह गरिएको छ। महासङ्घले अग्रिम टिकट बुकिङ खुला गर्ने मिति र समयबारे थप छलफलपछि छुट्टै सूचना जारी गर्ने जनाएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार