काठमाडौँ । नेपाल क्लियरिङ हाउस (एनसीएचएल)को ईएफटी कार्ड सेवामा थप २ वाणिज्य बैंक र ५ वित्त कम्पनी आबद्ध भएका छन्। नयाँ सदस्य थपिएसँगै ईएफटी कार्ड स्वीचमा आबद्ध बैंक तथा वित्तीय संस्थाको संख्या १७ पुगेको छ।
एनसीएचएलले सदस्य बैंक तथा वित्तीय संस्थासँग अन्तरक्रिया कार्यक्रम आयोजना गरी नयाँ सदस्यलाई स्वागत गरेको हो। कार्यक्रममा ईएफटी कार्ड सेवाको सञ्चालन, ग्राहकका अपेक्षा, प्रविधिको विकास, कार्ड भुक्तानीको सुरक्षा र आगामी पहलका विषयमा छलफल भएको थियो।
एनसीएचएलका अनुसार ईएफटी कार्ड सेवा बैंक तथा वित्तीय संस्थाका लागि केन्द्रीय स्वीचिङ समाधान हो। यसमार्फत भिसा, मास्टरकार्ड, युनियनपे, डिस्कभर, जेसीबी, रूपे र नेसनल पेमेन्ट कार्डलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्ड नेटवर्कका कारोबार स्वीकार गर्न सकिन्छ।
आर्थिक वर्ष २०८२/८३ मा नेपालमा कार्डमार्फत १० खर्ब १९ अर्ब रुपैयाँ बराबरका करिब १२ करोड ९० लाख कारोबार भएका थिए। त्यसमध्ये ईएफटीमार्फत २ खर्ब ५५ अर्ब रुपैयाँ बराबरका ३ करोड २० लाख कारोबार भएका थिए। ईएफटीमार्फत जारी कार्डको संख्या ३४ लाख ४० हजार रहेको एनसीएचएलले जनाएको छ।
एनसीएचएलले राष्ट्रिय भुक्तानी प्रणालीअन्तर्गत नेसनल पेमेन्ट कार्डलाई राष्ट्रिय कार्ड योजनाका रूपमा अघि बढाइरहेको जनाएको छ। आगामी दिनमा कार्ड भुक्तानीको क्षमता विस्तार, अन्तरआबद्धता, सुरक्षा सुदृढीकरण र नयाँ भुक्तानी समाधानमा सहकार्यलाई निरन्तरता दिने एनसीएचएलको भनाइ छ।

प्रतिक्रिया