सुस्ताका १६५ घर बाढीको उच्च जोखिममा


बुटवल । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ मा नारायणी नदीको बाढी पसेपछि १६५ घरपरिवार जोखिममा परेका छन्।

शुक्रबारदेखि थारु टोलमा बाढी पस्न थालेपछि ७८ घरपरिवारलाई होल्डिङ सेन्टरमा सारिएको थियो। शनिबार सैनिक टोल र बड्का टोलमा समेत बाढी पसेपछि थप ८५ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको सशस्त्र प्रहरी बेस क्याम्प सुस्ताका प्रहरी उपरीक्षक गोविन्दबहादुर खातीले जानकारी दिए।

नारायणी नदीमा पानीको सतह बढ्दै गएकाले जोखिममा रहेका परिवारलाई नदीवारि सुरक्षित स्थानमा सार्ने तयारी गरिएको छ। शनिबार बिहान गण्डक ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड २ लाख ६७ हजार क्युसेक पुगेको जनाइएको छ।

स्थानीयका अनुसार सुस्तामा निर्माणाधीन तटबन्धको १३२ मिटर भाग निर्माण हुन बाँकी रहेकाले सोही क्षेत्रबाट नदीले कटान गर्दै बस्ती नजिक पुगेको हो। बाढीले घरसँगै उखु खेतीमा समेत क्षति पुर्‍याएको छ।

प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जोखिममा परेका परिवारको उद्धारका लागि सुरक्षाकर्मीको टोली तयारी अवस्थामा राखिएको बताए।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार