काठमाडौँ। भारतको आन्ध्र प्रदेशस्थित श्रीकाकुलम जिल्लाको कलिंगपट्टनम नजिकै ‘अर्नब’ चक्रवात तटमा ठोक्किएको छ। चक्रवातका कारण आन्ध्र प्रदेश र ओडिसाका विभिन्न क्षेत्रमा भारी वर्षा र तीव्र हावाहुरी भइरहेको छ।
कलिंगपट्टनम क्षेत्रमा ७५ किलोमिटर प्रतिघण्टासम्मको हावाहुरी चलेको छ। विजयवाडामा निरन्तर वर्षाका कारण होचा भूभाग जलमग्न भएका छन् भने अधिकांश विद्यालयमा लगातार दोस्रो दिन पनि बिदा दिइएको छ।
ओडिसामा चक्रवातको प्रभावबाट करिब ५ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। मलकानगिरीमा भारी वर्षाका कारण केही पुल बगेका छन् भने पुलमाथि ३ देखि ४ फिटसम्म पानी बगिरहेको जनाइएको छ।
चक्रवातको जोखिमलाई ध्यानमा राख्दै ओडिसाका कम्तीमा सात जिल्लामा विद्यालय बन्द गरिएको छ। ११ जिल्लाका कलेक्टरलाई राहत तथा उद्धारको तयारी पूर्ण अवस्थामा राख्न निर्देशन दिइएको छ।
यसैबीच पश्चिम बङ्गालका केही क्षेत्रमा पनि भारी वर्षाको सम्भावना रहेको भन्दै दार्जिलिङ र कलिम्पोङमा पहिरोको चेतावनी जारी गरिएको छ।

प्रतिक्रिया