लोकसेवाका विभिन्न परीक्षा स्थगित, भदौ १३ देखि १७ सम्मका सबै परीक्षा रोकिए

भोटेकोशी विपद्का कारण परीक्षा तालिका प्रभावित, भदौ २० गतेदेखि सञ्चालन हुने


काठमाडौं । लोकसेवा आयोगले प्राकृतिक प्रकोपबाट उत्पन्न विषम परिस्थितिका कारण संगठित संस्थातर्फका विभिन्न परीक्षा कार्यक्रम स्थगित गरेको छ।

आयोगले शुक्रबार सूचना जारी गर्दै भदौ १३ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने तय भएका संगठित संस्थातर्फका सबै परीक्षा कार्यक्रम स्थगित गरिएको जनाएको हो।

पछिल्लो समय मुलुकका विभिन्न क्षेत्रमा आएको बाढी, पहिरोलगायतका प्राकृतिक विपद्का कारण उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै आयोगले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।

स्थगित भएका परीक्षा भदौ २० गतेदेखि पुनः सञ्चालन गरिने आयोगले स्पष्ट पारेको छ। यसअनुसार भदौ १३ देखि १७ गतेसम्मका लागि तोकिएका परीक्षाहरूको नयाँ तालिका भदौ २० गतेदेखि क्रमशः लागू हुनेछ।

आयोगले परीक्षार्थीहरूलाई संशोधित परीक्षा कार्यक्रमअनुसार तयारी गर्न आग्रह गरेको छ।

प्राकृतिक विपद्का कारण यातायात तथा आवागमनमा परेको असर र परीक्षार्थीको सुरक्षा अवस्थालाई समेत ध्यानमा राख्दै आयोगले परीक्षा स्थगित गरेको जनाएको छ।

२०८३ भाद्र १२, शुक्रबार १९:२२ प्रकाशित
ट्रेन्डिङ समाचार