स्टाफ कलेजको कार्यकारी निर्देशकमा पाँच जनाबीच प्रतिस्पर्धा,कसले मार्ला बाजी ?

दुई पटक सूचना निकाल्दा पनि योग्य उम्मेदवार नपरेपछि तेस्रो प्रयासमा बल्ल पाँच जनाको ‘सर्टलिस्ट’


छनौट निश्पक्ष होला कि सोर्सफोर्स चल्ला ?

काठमाडौं । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)को कार्यकारी निर्देशक नियुक्तिका लागि अन्ततः पाँच जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । कार्यकारी निर्देशक छनोटका लागि दुई पटकसम्म सूचना प्रकाशित गर्दा अपेक्षित रूपमा योग्य उम्मेदवार नपरेपछि सरकारले तेस्रो पटक सूचना जारी गरेको थियो । तेस्रो पटकको आवेदनबाट भने पाँच जना उम्मेदवार छनोट प्रक्रियामा अघि बढेका छन् ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार कार्यकारी निर्देशक पदका लागि आवेदन दिएका उम्मेदवारमध्ये पाँच जनाको सर्टलिस्ट सार्वजनिक गरेको हो ।

मन्त्रालयले सार्वजनिक गरेको सूचीअनुसार कार्यकारी निर्देशकका लागि अञ्जु मिश्र, गोकर्णमणि दुवाडी, डिल्लीराम शर्मा, बाबुराम अधिकारी र डा. रामप्रसाद घिमिरेबीच प्रतिस्पर्धा हुने भएको छ ।

मन्त्रालयका अनुसार कार्यकारी निर्देशक सिफारिससम्बन्धी मापदण्ड, २०८३ बमोजिम यसअघि पहिलो पटक २०८३/३/९, दोस्रो पटक २०८३/३/२४ र तेस्रो पटक २०८३/५/२ मा आवेदन आह्वान गरिएको थियो । तेस्रो पटक प्रकाशित सूचनाअनुसार प्राप्त आवेदनमाथि प्रारम्भिक मूल्यांकन गर्दा पाँच जना उम्मेदवारले तोकिएको मापदण्डको दफा ४ बमोजिम योग्यता पूरा गरेको र दफा ५ बमोजिम अयोग्य नदेखिएको मन्त्रालयले जनाएको छ ।

सिफारिस समितिको २०८३ भदौ ११ गते बसेको बैठकले पाँचै जनाको आवेदन स्वीकृत गरी दफा ६(३) बमोजिम वर्णानुक्रमअनुसार नामावली प्रकाशन गर्ने निर्णय गरेको हो ।

अब सर्टलिस्टमा परेका उम्मेदवारको प्रस्तुतीकरण तथा छलफललगायतका प्रक्रिया अघि बढाएर कार्यकारी निर्देशकका लागि सिफारिस गरिनेछ । मन्त्रालयले सूचीकृत उम्मेदवारको प्रस्तुतीकरण र छलफलको कार्यतालिका पछि प्रकाशित गर्ने जनाएको छ ।

स्टाफ कलेजको कार्यकारी निर्देशक पद सामान्य प्रशासनिक जिम्मेवारी मात्रै नभई सम्पूर्ण निजामती प्रशासनको क्षमता विकास र व्यावसायिक प्रशिक्षणसँग जोडिएको महत्वपूर्ण पद हो । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले निजामती सेवाका कर्मचारीलाई विभिन्न तह र प्रकृतिका तालिम तथा क्षमता विकास कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

त्यसैले प्रतिष्ठानको नेतृत्व गर्ने कार्यकारी निर्देशक पदलाई कर्मचारी वृत्तमा महत्वपूर्ण र प्रतिष्ठित जिम्मेवारीका रूपमा लिइन्छ । कार्यकारी निर्देशकको नेतृत्वले कर्मचारीको व्यावसायिक क्षमता, नेतृत्व विकास, तालिमको गुणस्तर तथा सार्वजनिक प्रशासन सुधारका कार्यक्रमलाई समेत प्रभाव पार्ने भएकाले यसपटकको छनोटलाई कर्मचारी वृत्तले चासोका साथ हेरेको छ ।

पहिलो र दोस्रो पटकको आवेदनबाट अपेक्षित रूपमा योग्य उम्मेदवार छनोट हुन नसकेपछि तेस्रो पटक सूचना निकाल्नुपरेको अवस्थाले पनि स्टाफ कलेजको नेतृत्व छनोट प्रक्रिया र पदको आकर्षणबारे बहस जन्माएको थियो । तेस्रो पटक भने पाँच जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएसँगै कार्यकारी निर्देशक छनोटको बाटो खुलेको छ ।

अब पाँचमध्ये कसले स्टाफ कलेजको नेतृत्व सम्हाल्ने अवसर पाउँछन् भन्ने विषय प्रशासनिक वृत्तमा चासोको विषय बनेको छ। सरकारले पाँच जनाको सर्टलिस्ट गरेपनि सर्टलिस्ट गरिएकाहरुमध्ये बाट निश्पक्षतापूर्वक छनौट होला कि सोर्सफोर्सका आधारमा भन्ने प्रश्न भने उठ्न थालेको छ । किनकी यस अघि सरकारले विभिन्न निकायमा प्रतिस्पर्धाका आधारमा नियुक्ति गर्ने बताएपनि अन्तिम समयमा आएर सोर्सफोर्सकै आधारमा छनौट गरेपछि प्रतिस्पर्धा र मेरिटोक्रेसीको विषय भन्ने नक्कली सावित हुँदै आएको छ ।

२०८३ भाद्र १२, शुक्रबार १८:३० प्रकाशित
ट्रेन्डिङ समाचार