नेपाल–चीन सीमामा हिमपहिरोको जोखिम कायमै


काठमाडौं । नेपाल–चीन सीमाक्षेत्रमा हिमपहिरोपछि बनेको तालका कारण जोखिम अझै कायम रहेको चिनियाँ दूतावासले जनाएको छ।

शुक्रबार विज्ञप्ति जारी गर्दै दूतावासले सीमाको माथिल्लो क्षेत्रमा हिम–चट्टानको पहिरो गएर नदी थुनिएपछि बनेको तालमा पानीको सतह उच्च रहेको र ओभरफ्लो हुन थालेको जनाएको हो।

दूतावासका अनुसार तालभन्दा तलका क्षेत्रमा रहेका स्थानीय बासिन्दा तथा सम्बन्धित कर्मचारीलाई पानीको सतहमा भइरहेको परिवर्तनबारे निरन्तर निगरानी गर्न, उच्च सतर्कता अपनाउन र सम्भावित आपत्कालीन अवस्थाका लागि तयारी अवस्थामा रहन आग्रह गरिएको छ।

नेपाल र चीनका सम्बन्धित निकायले घटनास्थलको अवस्थाबारे निरन्तर निगरानी गरिरहेको दूतावासले जनाएको छ। साथै, सर्वसाधारणलाई आधिकारिक तथा विश्वसनीय सूचना मात्र अनुसरण गर्न र अपुष्ट सूचना फैलाएर अनावश्यक त्रास सिर्जना नगर्न आग्रह गरिएको छ।

२०८३ भाद्र १२, शुक्रबार १६:०६ प्रकाशित
ट्रेन्डिङ समाचार