विपद्का बेला स्वास्थ्यकर्मीलाई बिदा नलिन मन्त्रालयको निर्देशन


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपद्को विषम परिस्थितिमा स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीलाई अत्यावश्यक अवस्थाबाहेक बिदा नलिन निर्देशन दिएको छ।

मन्त्रालयले सार्वजनिक बिदाका दिनसमेत खोज, उद्धार तथा उपचार सेवाका लागि तयारी अवस्थामा रहन कर्मचारीलाई निर्देशन दिएको हो।

शुक्रबार जारी निर्देशनमा रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा खोज, उद्धार, स्वास्थ्योपचार र राहत कार्य भइरहेको जनाइएको छ।

मन्त्रालयले मातहतका कर्मचारीलाई विशेष कारणबाहेक बिदा तथा काज स्वीकृत नगर्न तथा विपद् व्यवस्थापनमा आवश्यकताअनुसार खटिन तयार रहन निर्देशन दिएको छ। खोज, उद्धार तथा उपचारसँग सम्बन्धित निकायका प्रमुख, फोकल पर्सन र जिम्मेवार पदाधिकारीलाई बिदाका दिनसमेत कार्यालयमा उपस्थित हुन भनिएको छ।

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई बाढीपहिरो प्रभावित घाइतेको उपचारका लागि आवश्यक व्यवस्था मिलाउनसमेत मन्त्रालयले अनुरोध गरेको छ।

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।

ट्रेन्डिङ समाचार