नुवाकोट । प्रमुख प्रतिपक्षी नेता भीष्मराज आङ्देम्बेले बाढी प्रभावित नागरिकको उद्धार कार्य तीव्र पार्न गृहमन्त्री सुधन गुरुङलाई आग्रह गरेका छन्।
शुक्रबार नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथिली ब्यारेकमा गृहमन्त्री गुरुङसँग भेट गर्दै आङ्देम्बेले रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा नागरिक फसेको जानकारी आएको भन्दै सरकारको सम्पूर्ण ध्यान उद्धारमा केन्द्रित गर्न आग्रह गरे।
उनले रसुवाको स्याप्रुवेशी, टिमुरे र धुञ्चे तथा नुवाकोटको कोलोनी र विदुर नगरपालिकाका विभिन्न क्षेत्रमा फसेका नागरिकको तत्काल हवाई उद्धार गर्नुपर्ने बताए। प्रधानमन्त्री बालेन्द्र शाहलाई समेत उद्धार कार्यलाई प्राथमिकता दिन आग्रह गर्ने उनले बताए।
कांग्रेस सांसद टेकबहादुर गुरुङले बाढीका कारण अवरुद्ध सडक तत्काल पुनर्निर्माण गरी उद्धार कार्य प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
आङ्देम्बेसहित कांग्रेस नेताहरूले नुवाकोटको विदुर नगरपालिकास्थित ढुङ्गे बजार, देवीघाटलगायत बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणसमेत गरेका थिए।


