काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बाढीपीडितका नाममा अनधिकृत रूपमा रकम सङ्कलन नगर्न सम्बन्धित व्यक्ति, समूह तथा संस्थालाई आग्रह गरेको छ।
भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका नाममा विभिन्न व्यक्ति तथा संस्थाले आफूखुसी रकम सङ्कलन गरिरहेको गुनासो आएपछि सरकारले यस्तो चेतावनी दिएको हो। कतिपयले अनधिकृत क्युआर कोड तथा व्यक्तिगत बैंक खाता सार्वजनिक गरी रकम उठाइरहेको जानकारी प्राप्त भएको कार्यालयले जनाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालले जारी गरेको विज्ञप्तिमा विपद्का बेला प्राप्त सहयोगको पारदर्शी उपयोग र सही व्यवस्थापनका लागि सरकारले सार्वजनिक गरेका आधिकारिक खाता तथा क्युआर कोडमार्फत मात्र सहयोग गर्न आग्रह गरिएको छ।
कार्यालयले अनधिकृत रूपमा रकम सङ्कलन गर्ने कार्यलाई नियन्त्रण गर्दै त्यस्तो गतिविधिमा संलग्नमाथि कडा कारबाही गरिने चेतावनी दिएको छ। सरकारले सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका आधिकारिक बैंक खातामा मात्र रकम जम्मा गर्न अनुरोध गरेको छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषअन्तर्गत हिमालयन बैंक लिमिटेड (डलर खाता) ०१९०५६३१२१००४६, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड ०१०१३२४३८०१, ०२०१३२४३८०१,
राष्ट्रिय वाणिज्य बैंक ११३०१००००३७६२००१, ११३०१०००००००६०६, एभरेष्ट बैंक लिमिटेड ००१००१०५२००२७०, ००१०११०२२०००१२, नेपाल बैंक लिमिटेड ००२११६००५१००३९०००००३, ००२००१००५१००३९०००००१, ग्लोबल आइएमई बैंक लिमिटेड ००४०१०१०००००५७, ००४११०१००००००५, नबिल बैंक लिमिटेड १७१००१७५०५२८५ र
कृषि विकास बैंक लिमिटेड ०१००२०१००२९०७०१४ मा सहयोग जम्मा गर्न सकिन्छ ।
साथै प्रधानमन्त्री राहत कोषको राष्ट्रिय वाणिज्य कोषमा रहेको खाता नम्बर १४३०१००००००२५००६ र १४३०१००००११६४००१ रहेका छन् ।


