काठमाडौं । भोटेकोशी बाढीको त्रास र विनाशबाट मुलुक अझै सम्हालिन नसकिरहेका बेला तिब्बततर्फबाट फेरि अर्को ठूलो जोखिमको सूचना आएको छ ।
नेपाल प्रहरीले चिनियाँ पक्षबाट तिब्बतमा बनेको अस्थायी तालबाट पानी बाहिरिन थालेको तथा पुनः बाढीको जोखिम बढेको सूचना प्राप्त भएको जनाएको छ । प्रहरीले नदी तथा खोलाको तटीय क्षेत्रमा रहेका सर्वसाधारणलाई तत्काल सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ।
यसअघि चिनियाँ जलस्रोत मन्त्रालयले नेपालको छोचेन खोला र पुरेपु साङ्पो नदीको संगमस्थलनजिकै पहिरो तथा गेग्रानका कारण नदी थुनिएर ठूलो अस्थायी ताल बनेको जानकारी दिएको थियो। पछिल्लो विवरणअनुसार उक्त तालमा पानीको मात्रा तीव्र रूपमा बढ्दै गएको र पानी बाहिरिन थालेपछि जोखिम थप गम्भीर बनेको हो।
चिनियाँ पक्षले यसअघि नै सो तालमा केही दिनभित्र ठूलो परिमाणमा पानी थपिन सक्ने र प्राकृतिक बाँध फुटेमा तल्लो तटीय क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने चेतावनी दिएको थियो। पछिल्लो रिपोर्टअनुसार तालमा २५ लाख घनमिटरभन्दा बढी पानी जम्मा भइसकेको र आगामी दिनमा थप करिब ३० लाख घनमिटर पानी थपिन सक्ने आकलन गरिएको छ।
जोखिम बढेपछि चीनले उद्धार कार्यसमेत स्थगित गरेको छ। चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार पहिरोबाट आएको गेग्रान र लेदो थुप्रिएर बनेको अस्थायी तालको प्राकृतिक बाँध कमजोर बन्दै गएको तथा पानी उद्धार टोली खटिएको क्षेत्रतर्फ बग्न थालेपछि सुरक्षाका लागि उद्धारकर्मीलाई जोखिम क्षेत्रबाट हटाइएको हो।
यसले नेपालतर्फ पनि थप जोखिम निम्त्याउन सक्ने भन्दै विशेष सावधानी अपनाउनुपर्ने देखिएको छ। यसअघि तिब्बततर्फको हिमपहिरो तथा जलप्रवाहका कारण आएको भीषण बाढीले रसुवाको तिमुरे, स्याफ्रुबेँसीलगायत भोटेकोशी तथा त्रिशूली नदी आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति गरिसकेको छ।
अहिलेको अवस्थामा भोटेकोशी, त्रिशूली र तल्लो तटीय क्षेत्रका बासिन्दाले नदी किनारमा नजाने, जोखिमयुक्त घर तथा बस्तीमा नबस्ने र स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन तत्काल पालना गर्ने अवस्था आएको छ।
प्राप्त सूचनालाई सामान्य बाढीको चेतावनीका रूपमा मात्र नलिई सम्भावित जोखिमबाट जोगिन उच्च सतर्कता र पूर्वतयारी अपनाउनुपर्ने देखिएको छ। विशेषगरी अघिल्लो बाढीबाट प्रभावित तथा नदी किनारका बस्तीमा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने विषयमा सम्बन्धित निकायले तत्काल निर्णय लिनुपर्ने अवस्था छ।


