काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलाई ज्यान मार्ने धम्की आउनु र प्रधानमन्त्री कार्यालयमा थुनिएको भनिएको विषय गम्भीर भएको बताएका छन्।
प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा लामिछानेले यस्तो अवस्थामा अख्तियारका अधिकारीले निष्पक्ष रूपमा काम गर्न सक्नेमा प्रश्न उठाए। उनले अख्तियार सरकारको छाया नभएको भन्दै कानुनले दिएको अधिकार प्रयोग गरेर निर्बाध रूपमा काम गर्न आग्रह गरे।
पासपोर्ट प्रकरणमा अनुसन्धान अघि बढाउनुअघि अख्तियारका अधिकारीलाई प्रधानमन्त्री कार्यालयमा सात घण्टा राखेर दबाब सिर्जना गरिएको विषयमा समेत समितिमा छलफल भएको थियो।
लामिछानेले ‘नीतिगत निर्णय’ को स्पष्ट कानुनी परिभाषा आवश्यक रहेको बताए। सबै अधिकार अख्तियारमा केन्द्रित गर्दा संस्थाले त्यसको भार धान्न सक्ने–नसक्ने विषयमा पनि गम्भीर समीक्षा गर्नुपर्ने उनको भनाइ थियो।
उनले वित्तीय अपराध हेर्ने अन्य निकायलाई समेत काम गर्न दिनुपर्ने र निजी क्षेत्रलाई अनावश्यक रूपमा त्रसित बनाउने अवस्था सिर्जना गर्न नहुने धारणा राखे।


