अख्तियारमाथि हस्तक्षेप रोक्न सांसदको माग


काठमाडौँ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कामकारबाही र प्रभावकारिताबारे छलफल भएको छ।

बैठकमा रास्वपा सांसद अमरेशकुमार सिंहले अख्तियारको संवैधानिक मर्यादा कमजोर बन्दै गएको भन्दै आयोगलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्ने बताए। उनले आयोगको प्रभावकारिता कमजोर हुनुमा आयुक्तहरूको नियुक्ति, कानुनी अस्पष्टता र कार्यकारी हस्तक्षेप प्रमुख कारण रहेको दाबी गरे।

सिंहले मन्त्री वा प्रधानमन्त्रीले अख्तियारका पदाधिकारीलाई बोलाएर निर्देशन दिन नमिल्ने भन्दै आयोगलाई आफ्नो संवैधानिक हैसियतअनुसार काम गर्न आग्रह गरे।

कांग्रेस सांसद अर्जुननरसिंह केसीले पनि अख्तियारलाई स्वतन्त्र र निष्पक्ष बनाउने वातावरण बन्न नसकेको बताए। उनले संवैधानिक संस्थालाई नियन्त्रण गर्ने प्रयास रोक्दै अख्तियारलाई स्वायत्त, सशक्त र प्रभावकारी बनाउन कानुनी सुधारमा ध्यान दिनुपर्ने धारणा राखे।

२०८३ भाद्र ४, बिहीबार १२:३५ प्रकाशित
ट्रेन्डिङ समाचार