काठमाडौं । अमेरिकाको संघीय सरकारी ऋण पहिलोपटक ४० ट्रिलियन डलर पुगेको छ। अमेरिकी ट्रेजरी विभागका अनुसार मंगलबार सरकारी ऋण अहिलेसम्मकै उच्च स्तरमा पुगेको हो।
सरकारी खर्च आम्दानीभन्दा बढी हुनु, सामाजिक सुरक्षा तथा स्वास्थ्य सेवामा बढ्दो खर्च, कर कटौती र कोरोना महामारीका राहत कार्यक्रमका कारण अमेरिकी ऋण तीव्र गतिमा बढेको हो। पछिल्ला पाँच महिनामै अमेरिकी सरकारी ऋण १ ट्रिलियन डलरले बढेको छ।
ऋण बढेसँगै त्यसको ब्याज भुक्तानीको भार पनि बढेको छ। चालु आर्थिक वर्षमा अमेरिकाले ऋणको ब्याज तिर्न मात्रै १ ट्रिलियन डलरभन्दा बढी खर्च गर्ने अनुमान गरिएको छ। ब्याज खर्च सामाजिक सुरक्षा पछिको ठूलो संघीय खर्चमध्ये एक बनेको छ।
ऋण बढ्दा अमेरिकी ट्रेजरी बन्डको प्रतिफलसमेत उच्च भएको छ। यसले घर कर्जा, सवारीसाधन ऋण र व्यवसायिक कर्जाको ब्याजदर बढाउन सक्ने भएकाले यसको प्रभाव अमेरिकी नागरिक र निजी क्षेत्रसम्म पुग्ने अर्थविद्हरूको भनाइ छ।
विशेषज्ञहरूले यही गतिमा ऋण बढ्दै गए आगामी केही वर्षमै अमेरिकी सरकारी ऋण ५० ट्रिलियन डलर पुग्न सक्ने चेतावनी दिएका छन्। बढ्दो ऋण र ब्याज खर्चले अमेरिकी अर्थतन्त्रमा दीर्घकालीन वित्तीय दबाब बढाउने देखिएको छ।


