काठमाडौं । खाना पकाउने एलपी ग्यासको अभाव चर्किएपछि नेपाल आयल निगमले काठमाडौंका पाँच स्थानबाट ग्यास वितरण सुरु गरेको छ।
निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा टेकु, चाबहिल, कीर्तिपुर, वसुन्धरा र बबरमहलबाट शनिवारदेखि ग्यास बिक्री वितरण थालेको हो। बिहान १० बजेदेखि साँझ ६ बजेसम्म ग्यास वितरण गर्ने निगमको योजना छ।
ग्यास लिन बिहानैदेखि वितरण केन्द्रमा उपभोक्ताको लामो लाइन लागेको छ। बबरमहलमा मात्रै एक हजारभन्दा बढी उपभोक्ता पुगेका छन्। तर, लाइनमा बसेर पालो आएपछि पनि ग्यास अभाव हुँदा कतिपय उपभोक्ता लामो समय कुरेर बस्न बाध्य भएका छन्।
निगमले ग्यासको कालोबजारी, लुकाउने तथा अनावश्यक भण्डारण गर्नेविरुद्ध अनुगमन तीव्र बनाएको जनाएको छ। ग्यास लिन आउने उपभोक्ताले अनिवार्य रूपमा परिचयपत्र साथमा ल्याउनुपर्नेछ।
२०८३ श्रावण ३०, शनिबार १८:१२ प्रकाशित


